गृहजिल्लामै कमजोर गृहमन्त्री, शक्ति जोगाउन निर्वाचन क्षेत्र फेर्ने दाउ

गृहजिल्लामै कमजोर गृहमन्त्री, शक्ति जोगाउन निर्वाचन क्षेत्र फेर्ने दाउ

पछिल्लो समयमा देउवा विदेश भ्रमण रहँदा उनले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत प्राप्त गरे। यसले पनि पुष्टि गर्छ, खाँण केन्द्रीय राजनीतिमा कति शक्तिशाली छन्।

पार्टीको केन्द्रीय राजनीतिमा शक्तिशाली रहेका खाँण जिल्लामा भने कमजोर छन्। त्यसैले शक्ति गुम्न नदिन उनले हरप्रयास गरिरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो, क्रियाशील सदस्यता परिवर्तन।

खाँणले बुटवल वडा नं. ६ मा रहेको आफ्नो क्रियाशील सदस्यता तिलोत्तमा नगरपालिका वडा नं. ८ मा सारेका छन्। रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ र प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा पर्ने तिलोत्तमाको वडा नं. ८ को १ सय १० नम्बरमा उनको क्रियाशील सदस्यतामा नाम छ।

बालकृष्ण खाँणमा शक्तिको भोक कति छ भनेर जान्न २०७४ सालको निर्वाचन हेरे पुग्छ। २०६४ सालको पहिलो संविधानसभा र २०७० को दोस्रो संविधान सभामा निर्वाचित खाँण २०७४ सालको निर्वाचनमा भने समानुपातिक बसे।

आफ्नै क्षेत्र रूपन्देहीको क्षेत्र नं. ३ मा तत्कालीन समयमा एमाले, माओवादी गठबन्धनको मतलाई विश्लेषण गरी प्रत्यक्ष निर्वाचनबाट भागेका खाँण अहिले सुरक्षित निर्वाचनको खोजीमा छन्। उनको क्रियाशील सदस्यता परिर्वतनले अहिलेको उनको रोजाई रुपन्देही क्षेत्र नं. १ हो भन्न सकिन्छ।

खाँणले २०६४ सालमा एमालेका लिला गिरी र २०७० सालमा एमालेका घनश्याम भुसाललाई पराजित गरेका थिए। गिरीलाई १२ सय मतान्तरले जितेका खाँण भुसालसँग जम्मा ८५ मतले विजयी भएका थिए।

अहिले खाँणले राजेको रुपन्देही क्षेत्र नं. १ कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकको निर्वाचन क्षेत्र हो। उनी निकटस्थहरु पनि निर्वाचनमा सुरक्षित रहन खाँणले क्रियाशील सदस्यता सारेको स्वीकार गर्छन्।

उनले २०४८ को आम निर्वाचनमा तत्कालीन क्षेत्र नं. ४ बाट  चुनाव जितेका थिए। पछि यहाँ एमाले बलियो देखिएपछि कांग्रेस नेता स्व. सूर्यप्रसाद प्रधानलाई छाडेर अर्को क्षेत्रबाट निर्वाचन लडे।

क्रियाशील सदस्यताले निर्वाचन लड्न खास असर नगरे पनि आफ्नो गृहनगरमा क्रियाशील सारेर खाँणले निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने सन्देश दिएको कांग्रेस नेताहरु बताउँछन्। कांग्रेस सभापति अब्दुल रज्जाक भने क्रियाशील सार्दैमा निर्वाचन क्षेत्र नै फेरबदल हुन लागेको भन्नु गलत हुने बताउँछन्। उनले क्रियाशीलसँग उम्मेदवार हुने कुराको कुनै साइनो नहुने समेत बताए।

कस्तो छ निर्वाचन क्षेत्र नं. १
रुपन्देहीको निर्वाचन क्षेत्र नं. १ मा देवदह नगरपालिका र तिलोत्तमा नगरपालिका–७, ८, ९, १०, ११, १२ १५, १६ र १७, ओमसतिया गाउँपालिका–१, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका पर्छन्। २०७० सालको निर्वाचनमा रज्जाकले एमाले नेता छविलाला विश्वकर्मालाई यो क्षेत्रबाट पराजित गरेका थिए। तर २०७४ सालको निर्वाचनमा भने उनै रज्जाकलाई विश्वकर्माले पराजित गरेका थिए।

२०७० सालको निर्वाचनमा विश्वकर्मालाई २ सय ४ मतले पराजित गरेका रज्जाक २०७४ को निर्वाचनमा ७ हजार ८ सय ६७ मतान्तरले पराजित भए। विश्वकर्माले ३४ हजार ७ सय ५२ मत ल्याएका थिए भने रज्जाकले २६ हजार ८ सय ८५ मत प्राप्त गरेका थिए। त्यो समयमा कांग्रेसले उक्त मतलाई गठबन्धनको मत भने पनि आगामी चुनावमा खाँणले सोचेजस्तो निर्वाचन क्षेत्र नं. १ त्यति सहज भने देखिँदैन।

२०७४ सालकै निर्वाचनमा क्षेत्र नं. ३ मा कांग्रेस र राप्रपाका साझा उम्मेदवार दिपक बोहोरालाई एमालेका घनश्याम भुसालले पराजित गरेका थिए। राप्रपा र कांग्रेसको मत २७ हजार ४ सय २२ बोहोराले पाउँदा भुसालले ३२ हजार ८ सय ६६ मत प्राप्त गरेका थिए।

गृहजिल्लामा आलोचित छन् खाँण
गृहमन्त्री बालकृष्ण खाँण पछिल्लो समय जिल्लाभित्र आलोचित बनिरहेका छन्। हालै रुपन्देही क्षेत्र नं. ३ (क) को प्रदेश अधिवेशनमा उनकै निर्देशनमा कांग्रेस नेता सैलेश पन्तमाथि आक्रमण भएको रामचन्द्र पौडेल पक्षले आरोप लगाएपछि उनको आलोचना अझ बढेको छ। 

निर्वाचनको समयमा नातावादको आरोप उनीमाथि लागेको थियो। गएको स्थानीय तहको निर्वाचनमा आफ्ना सहदोर भाइ रामकृष्ण खाँणलाई उनले तिलोत्तमा नगरपालिकाको प्रमुखमा उम्मदेवार बनाएका थिए। उनी एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए। यतिसम्मकी खाँणकै वडा तिलोत्तमा– ८ मा एमालेका उम्मेदवार विजयी बनेका थिए। त्यतिबेला आफ्नै नगरभित्र भाइलाई स्थानीय तहको निर्वाचनमा जिताउन नसकेको भन्दै उनको आलोचना भएको थियो। 

निर्वाचन क्षेत्र नं. ३ मा पर्ने सिद्धार्थनगर नगरपालिका, सियारी, शुद्धोधन गाउँपालिकामा पनि एमालेले जित हासिल गरेपछि खाँणको चर्को आलोचना भयो। 

कांग्रेसका पूर्व महासमिति सदस्य कृष्ण पौडेल बालकृष्ण खाँण प्रभावशाली नेता भए पनि उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई रिझाउन नसकेको बताउँछन्। ‘आफू प्रभावशाली छन्, तर निर्वाचन क्षेत्र बलियो बनाउन सकेनन्। अहिले आफू बलियो हुन पहिलोको निर्वाचन क्षेत्रबाट भाग्न खोज्दैछन्,’ उनी भन्छन्।

मंसिर ६, २०७८ सोमबार १४:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।