बडुवालको हत्यापछि फरार एक जना पक्राउ 

बडुवालको हत्यापछि फरार एक जना पक्राउ 

धनगढीः चक्कु प्रहार गरी लम्कीका २३ वर्षीय युवक भुपेन्द्र बडुवालको हत्या गरिएको प्रकरणमा एक जना पक्राउ परेका छन्। हत्यापछि फरार रहेका कैलाली लम्कीचुहा नगरपालिका वडा नं ३ चिसापानी बस्ने वर्ष १९ का मदन शाहीलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा उनलाई सुनसरीको धरान उप-महानगरपालिका वडा नं ४ बाट पक्राउ गरिएको हो।

यसअघि  पक्राउ परेका अन्य ९ जनालाई प्रहरीले सार्वजनिक गरिसकेको छ। ईलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएकोमा अझै ६ जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

कात्तिक २३ गते मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिक खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका–१ का २३ वर्षीय बडुवालको हत्या गरेको आरोपमा लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। 

यस्तै पक्राउ परेका अन्यमा टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह, २१ वर्षीय रोहित आले र विकास खड्का रहेका छन्।

मंसिर ६, २०७८ सोमबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।