कांग्रेस महाधिवेशनः सुनसरी-१ मा छिन्नभिन्न भयो देउवा समूह

कांग्रेस महाधिवेशनः सुनसरी-१ मा छिन्नभिन्न भयो देउवा समूह

इटहरीः नेपाली कांग्रेस सुनसरीमा प्रदेश निर्वाचन क्षेत्रको मतपरिणामले तरङ्ग ल्याएको छ। सुनसरी क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन इतर प्यानल विजयी भएपछि देउवा पक्ष छिन्नभिन्न भएको छ।

तिलक राईले देउवा पक्षबाट उम्मेदवार बन्न नसक्ने बताएपछि झनै समस्या बढेको छ। देउवा टीममा प्रवेश नगरे पनि संस्थापन पक्षले क्षेत्रीय सभापतिमा आफूलाई समर्थन गरेको बताउँदै आएका उनी पछिल्लो निर्वाचन परिणामले पछि हटेका छन्।

इतर पक्षका सुजेन्द्र तामाङ स्वाभाविक उम्मेदवार हुने भएपछि राईले संस्थापन पक्षको साथ खोजेका थिए। सोही बमोजिम संस्थापन पक्षले पनि टीम बलियो बनाउन राईलाई समर्थन गरेको हो। तर पछिल्लो चुनावी नतिजाले संस्थापन पक्ष निकै कमजोर अवस्थामा पुगेको छ। 

तिलक राईलाई उम्मेदवार बनाउनुअघि देउवा पक्षबाट पूर्ण सुवेदी उम्मेदवार थिए। केन्द्रीय नेताहरूको दबावमा सुवेदीले राईलाई सहयोग गर्न तयार रहेको बताए। हाल आएर राईले धोका दिएपछि संस्थापन पक्ष समस्यामा परेको हो। 

तिलक राईले आफू उम्मेदवार हुन नसक्ने बताएपछि महिला विभागकी सचिव तथा महासमिति सदस्य लक्ष्मी खतिवडाले उम्मेदवार बन्ने भएकी छिन्। प्रभावशाली महिला नेतृको छवि बनाएकी उनले आफू निर्वाचन जित्ने बताएकी छिन्।  

संस्थापन प्यानलले भने सोमबार बिहानै पत्रकार सम्मेलन गरी खतिवडालाई उम्मेदवार बनाउने घोषणा गरेको छ। नगर अधिवेशनमा संस्थापन पक्षमा उम्मेदवार किशोर राईका विरुद्ध लागेका तिलक राईलाई उम्मेदवार बनाउनु गल्ती भएको बताउँदै खतिवडालाई उम्मेदवार बनाएको संस्थापन पक्षका नेता गोविन्द सुब्बाले बताए। 

इतर पक्षका उमेद्धवार श्याम पोखरेलको प्रस्तावक रहेका तिलक राई आफैं नगर अधिवेशनपछि देउवा समूहमा आएको उनले प्रष्ट पारे। केन्द्रबाटै दबाव आएपछि बाध्यात्मक रूपमा सुवेदीको ठाउँमा तिलक राईलाई उम्मेदवार बनाएको उनको भनाइ छ। देउवा पक्षले जित्ने सुब्बाको दावी छ। 

देउवा टीमले कार्यकर्ताको भावनाविपरीत निर्णय गरेको भन्दै किशोरले विरोध जनाउँदै आएका छन्। किशोरको असन्तुष्टिकै उपज इतर पक्ष हावी भएको छ। 

किशोरकै भनाइको आधारमा प्रदेशको निर्वाचनले धेरै कुरा संकेत गरेको छ। राजनीतिमा नैतिकता हराउँदै जाँदा आफू कार्यकर्ताको लागि लड्ने निर्णयमा पुगेको  उनको भनाइ छ। देउवा टीमका नवप्रवेशीको कारण यो अवस्था आएको उनले प्रष्ट पारे। खतिवडा पनि भर्खरै संस्थापन पक्षमा लागेकी हुन्। 

आफू ०५८ सालदेखी देउवा टीममा रहेको तर नयाँ आएकाले ठेकेदारी चलाउन थालेको उनको गुनासो छ। कार्यकर्ताको आत्मसम्मानमा ठेस पुर्याउने भन्दा स्वार्थ पूरा गर्न टीममा लाग्ने धेरै भएको उनले बताए। तिलक राईले उम्मेदवारी नदिने भएपछि कसलाई समर्थन गर्ने भन्नेबारे छलफलपछि निर्णय गर्ने उनको भनाइ छ।

केन्द्रीय सदस्य मीन विश्वकर्माप्रति कटाक्ष गर्दै उनले टीमलाई कमजोर बनाउन लागेको आरोप लगाए। विश्वकर्माले एक सामान्य कार्यकर्तालेजति पनि काम नगरेको कारण देउवा पक्ष कमजोर भएको उनको बुझाइ छ।

जनताको काम गर्नेभन्दा पनि केन्द्रमा बसेर पार्टी चलाउन खोज्दा यो अवस्था आएको उनले आरोप लगाए। अहिले टीम यो अवस्थामा पुग्नुमा उनी आफैं जिम्मेवार रहेको उनको भनाइ छ।

'देउवा पक्ष हराउने मान्छेलाई पुनः पदमा पुर्याउनु हुन्न भन्ने मेरो लाईन हो। क्षेत्रमा जिल्लामा अझै चुनाव बाँकी नै छ। बिस्तारै नयाँ परिणाम देखापर्छन', उनले भने, 'इमान्दारीपूर्वक चुनावमा लड्नुपर्छ। कार्यकर्ताको मनको भावना बुझेर अगाडि बढ्ने उम्मेदवारलाई मेरो समर्थन रहन्छ।'

मंसिर ६, २०७८ सोमबार १२:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।