देउवा टीमको रणनीति: बलियो जिल्लामा निर्वाचन, कमजोरमा सहमति

देउवा टीमको रणनीति: बलियो जिल्लामा निर्वाचन, कमजोरमा सहमति

इटहरीः नेपाली कांग्रसको जारी १४औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले नयाँ रणनीति अपनाएको छ। पालिका अधिवेशनमा कमजोर देखिएको संस्थापन देउवा प्यानल पछिल्लो समय आफ्नो पकड क्षेत्रमा निर्वाचन गर्ने र अन्यमा सहमति गर्ने दाउमा छ। 

कांग्रेस राजनीतिको प्रभावशाली तर आफू कमजोर भएका झापा, मोरङ, सुनसरी, चितवन लगायत जिल्लामा देउवा समूहले सहमतिको प्रयास अगाडि बढाएको छ। 

प्रदेश महाधिवेशन प्रतिनिधिदेखि नै सहमतिको प्रयास थालेको देउवा समूहले केन्द्रीय महाधिवेशनमा सहमति गर्ने योजना बनाएको हो। 

आइतबार सुनसरीको देवानगञ्ज पुगेका प्रधानमन्त्री देउवाले कार्यकर्तालाई पार्टीको महाधिवेशनमा सकेसम्म सहमतिबाट नेतृत्त्व छान्न आग्रह गरेका थिए। 

देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा देउवाले पार्टीको आन्तरिक चुनावमा लडेर नेतृत्त्व छान्नुभन्दा सहमतिबाटै निकास निकाल्नु पर्ने बताए। 

उनले चुनाव गर्नै परे हार जितलाई सामान्य रूपमा लिन पनि आग्रह गरे।

देउवाको पकड क्षेत्रमा इतर पक्ष हावी
कुनै समय देउवा पक्षको पकड रहेको सुनसरीमा पछिल्लो समय इतर पक्ष हावी भएको छ। देउवा पक्षका प्रभावशाली नेताहरू विजय कुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की, मीन विश्वकर्मा, सीताराम मेहेता, राजीव ढुङ्गाना लगायतको गृहजिल्ला हो सुनसरी। 

शनिबार सम्पन्न प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा पनि इतर पक्षको पकड भएपछि क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिमा सहमतिको प्रयास थालिएको हो। 

गच्छदारले यसअघि नै आफ्नो पकड कायमै राख्न सहमति गराउँदै आएका छन्। दुई साता यता उनले कार्यकर्तालाई घरैमा बोलाएर सहमतिमा आउन आग्रह गर्दै आएका छन्। 

उनकै आग्रह बमोजिम प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिमा सहमति भएको छ। प्रनितिधि सभा निर्वाचन क्षेत्रमा इतर पक्षका मेहेदी हुसेन क्षेत्रीय सभापतिका बलिया दाबेदार हुन्। 

गच्छदारले भने उनकै टीमका प्रदीप चौधरीलाई सभापति बनाउन खोजिरहेका छन्। 

यता देउवा समूह कमजोर रहेका १ र २ नम्बर क्षेत्रमा पनि सहमति गराउने प्रयास असफल भएको छ। आफ्नो पक्षका प्रभावशाली नेताहरू नै महाधिवेशन प्रतिनिधिमा पराजित हुने भएपछि देउवाले सहमति गर्न आग्रह गरेका हुन्। 

मोरङमा पनि देउवा पक्षले सहमति गराउने प्रयास थालेको छ। सोही बमोजिम ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा सहमतिबाटै नेतृत्त्व चयन भएको छ। 

डाक्टर शेखर कोइरालाको गृहजिल्ला भएकाले उनको प्रभाव बढी नै देखिएको छ। केन्द्रीय सभापतिको दावी गरिरहेका उनले गृहजिल्लाबाट आफ्नो प्यानलै विजयी गराउने तयारी गरेका छन्। 

झापामा पनि कृष्ण सिटौला पक्ष बलियो देखिएको छ। विश्वप्रकाश शर्माकै क्षेत्रमा सिटौला प्यानल विजयी भए। त्यसअघि नै आफू कमजोर भएको क्षेत्रमा शर्माले सहमतिको प्रयास अगाडि बढाएका थिए। 

सोही क्रममा २ वटा प्रदेश निर्वाचन क्षेत्रमा सहमतिबाटै नेतृत्त्व चयन भएको छ। केन्द्रीय महामन्त्री दावी गरिरहेका शर्मालाई आफ्नै जिल्लाको साथ नदिने देखिएको छ। 

चितवनमा भने केही प्रतिनिधिमा बाहेक सबैमा निर्वाचन भएको छ। आज (सोमबार) क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन भइरहेको छ। 

देउवा समूह कमजोर देखिएकाले इतर पक्षले सहमति गर्न नमानेको हो। चितवन कांग्रेसका युवा नेता सूर्य ढकालका अनुसार सहमति हुने सम्भावना भएपछि निर्वाचन भएको हो। 

इतर पक्षको प्यानलै विजयी हुने सम्भावना रहेकाले देउवा पक्षले सहमति गर्न खोजेको उनको भनाइ छ। 
 

मंसिर ६, २०७८ सोमबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।