बैतडी जीप दुर्घटना: मृत्यु हुनेको संख्या ६ पुग्यो

बैतडी जीप दुर्घटना: मृत्यु हुनेको संख्या ६ पुग्यो

धनगढीः बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर सोही नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत कलुवाड मोडमा आइतबार राति दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका जीप चालक डडेलधुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

जीपमा सवार ५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो। दशरथचन्द नगरपालिका-६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

दुर्घटनामा गम्भीर घाइते दशरथचन्द नगरपालिका-६ का ४८ वर्षीय हर्कबहादुर चन्दलाई थप उपचारका लागि धनगढी ल्याइएको छ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। जीप सडकबाट सात सय मिटर तल खसेको थियो।

मंसिर ६, २०७८ सोमबार ०७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।