४५ लाखको चेक र चितुवाको छाला सहित समातिए चार जना
सुर्खेत : चितुवाको छालासहित पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको छ। आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।
अछामको पञ्चदेवल विनायक नगरपालिका–८ का ३५ वर्षीय कमल शाही, २२ वर्षीय चक्रबहादुर शाही, रामारोशन गाउँपालिका–४ का २१ वर्षीय ओपेन्द्र शाह र दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ का ३५ वर्षीय विमल शाहीलाई प्रहरीले सार्वजनिक गरेको हो।
उनीहरूलाई शनिवार पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डिचौरस्थित एक होटेलबाट पक्राउ गरिएको हो। उक्त होटेलमा बसेर उनीहरूले वन्यजन्तु चितुवाको छालाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।
उनीहरूको साथबाट केही मोबाइल थान, विलमले बोकेको कालो रङको झोलामा रहेका ४५ लाखको चेक र नगद २७ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। उनीहरूको साथमा भेटिएको चेक स्वयम् विमल शाहीको नाममा काटिएको घर्तीले बताए।
अहिले तीन थान छालासहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको छ।
मंसिर ५, २०७८ आइतबार १९:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।