रियालिटी शोको विकृति : कलिला मस्तिष्कमा एडल्ट गीत-सङ्गीतको भारी

रियालिटी शोको विकृति : कलिला मस्तिष्कमा एडल्ट गीत-सङ्गीतको भारी

काठमाडौँ : नेपालका टेलिभिजनहरूमा यति बेला दुई ओटा बालबालिकाका लागि तयार पारिएको गायन रियालिटी सो चलिरहेको छ। दुवै शोहरु अन्तर्राष्ट्रिय फ्रेन्चाइज सिंगिङ रियालिटी शोहरु हुन्।

'सारेगमप लिटिल च्याम्स' भर्खरै सञ्चालनमा आएको टेलिभिजन ग्यालेक्सी फोर केबाट प्रत्येक साता शुक्रवार र शनिवार प्रसारण भइरहेको छ। भारतमा निकै चर्चा कमाएको टेलिभिजन रियालिटी सो 'सारेगमप लिटिल च्याम्स'लाई नेपालमा ल्याइयो। गाला राउन्डसम्म यो कार्यक्रम पुग्दा यसको लोकप्रियता पनि बढेको छ। सहभागी बालबालिकाहरू पनि गजवका छन्।

पहिलो सिजन चलिरहेको 'सारेगमप लिटिल च्याम्स'मा म्युजिकल ग्राण्ड जुरीमा विक्रम बराल, मेनुका पौडेल, टीका प्रसाईँ, प्राश्ना शाक्य, विश्व नेपाली, हर्क साउद, सिडी विजय अधिकारी, बिभस योञ्जन,उदेश श्रेष्ठ, सरिता मिश्र, रवि ओड, निशान भट्टराई, निशा देसार, किशोर थापा र धर्मेन्द्र सेवान गरL १५ सदस्य छन्।

त्यस्तै यो रियालिटी सोमा नेपाल आइडलमा जज भइसकेका न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक छन्। उद्घोषणमा रिमा विश्वकर्मा र यमन श्रेष्ठले सम्हालेका छन्।

यति बेला यो सोको १४ औँ एपिसोडसम्म प्रदर्शन भइरहेको छ। साना बालबालिकाको मिठो स्वर र उनीहरूको बालापनले कार्यक्रममा थप रौनक बनाएको छ।

त्यस्तै बालबालिकाकै गायन रियालिटी सो 'द भ्वाइस किड्स' पनि यति बेला प्रसारण भइरहेको छ। दुई हप्ता अघिबाट सुरु भएको कार्यक्रम अहिले ब्लाइन्ड राउन्डमै छ। यसको ४ एपिसोड प्रसारण भए।

यो पनि फ्रेन्चाइजी कार्यक्रम नै हो। 'भ्वाइस अफ नेपाल' भित्र्याएको समूहले नै यो कार्यक्रम नेपाल भित्र्यायो। सो समूहले भ्वाइस अफ नेपालको दोस्रो सिजन सम्म सञ्चालन गरेको थियो।

'द भ्वाइस किड्स'का कोचहरूमा प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका छन्। प्रतियोगीहरू अहिले कोचको कुर्सी आफूतिर घुमाउने प्रयासमा छन्।

यी कार्यक्रममा सहभागी प्रतियोगीहरूले नेपालको आगामी गायन पुस्ता कस्तो आउँछन् भन्ने देखाउँछ। कार्यक्रममा नेपालका साथै भारतमा रहेका नेपाली भाषी बालबालिकाहरू पनि सहभागी छन्। प्रशिक्षण लिएर खारिएका देखि शौकले गाउनेहरूले समेत मिठो प्रस्तुति दिएर दर्शक र जजहरूलाई छक्क पारिरहेका छन्।

तर सहभागी अधिकांश बालबालिकाहरूले चयन गर्ने गीतहरू भने वयस्क र प्रौढका छन्। अहिलेसम्म बाल गीत गाउने प्रतियोगी देखिएको छैन दुवै कार्यक्रममा। केहीले स्वदेश गीत गाए पनि बालबालिकाहरू मञ्चमा माया-प्रेमका गीतमै बढी झुम्मिएका छन्।

भ्वाइस किड्सको एक प्रतियोगी हेरौँ।

झापाकी ६ वर्षकी शुस्मी गुरुङको राम्रोसँग बोली पनि फुटेको छैन। उनी प्रतियोगितामा आएर गीत गाइन्'भैँसी लड्यो है माया'। त्यो गीतमा 'तरुनीको गफैमा भुलेर,एउटा चुरोट सल्काएर,' लगायतका शब्दहरू थिए।

उनले राम्रै गाइन्। जजहरूमध्ये प्रविशाले पहिल्यै कुर्सी घुमाएकी थिइन्। पछि राजु र प्रमोदले पनि कुर्सी घुमाए। उनी प्रविशाकै टिममा बसिन्।

गीत त मिठै गाइन् तर ती छ वर्षकी बालिकाले यो गीतका यस्ता शब्दबारे के जानकारी होला।

बाल प्रतिभा खोज्ने कार्यक्रमका सामाग्री भने वयस्कको हुनु उचित हो त ?

बाल साहित्य र गीत सङ्गीतमा काम गरिरहेका सङ्गीतकार आभास बालबालिकाको हकमा वयस्कका गीतहरू गाउन दिनु गलत भएको बताउँछन्।

उनले भने' जबसम्म बालबालिका परिपक्व हुँदैनन्, तबसम्म अभिभावक र शिक्षकले यस्ता गीत सङ्गीतमा बालबालिकालाई स्वतन्त्रता दिन हुँदैन,' उनले भने।

बच्चालाई ठिक ढङ्गले साहित्य र गीतको शिक्षा दिएन भने उनीहरूको भविष्य राम्रो नहुने उनको तर्क छ।

'स्कुलले यौवना गीत गाउन र त्यसमा नाच्न दिएर अपराध गरिरहेको थियो, अहिले झनै खुलमखुला टेलिभिजनमा अभिभावक बालबालिका बोकेर माया प्रेमको गीत गाउन लगेको देखेर अचम्म लाग्छ। यो दुखद कुरा हो,' उनले भने।

बाल प्रतिभा खोज्ने कार्यक्रमको लक्ष्य हो भने सामाग्री पनि उमेर अनुसार चयन गर्नुपर्ने उनको मत छ। तत्काल कुनै प्रभाव नदेखिए पनि भविष्यमा त्यस्ता सामाग्रीले बालबालिकाको मानसिकतामा गहिरो प्रभाव पार्ने बताउँदै उनले भने' बालबालिकाका लागि उनीहरूकै गीत चाहिन्छ। बाल गीतलाई रियालिटी शोहरुमा गाउन लगाओस्, त्यो पो बाल प्रतिभा भयो त।'

मंसिर ५, २०७८ आइतबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।