सडक दुर्घटनाबाट प्रत्येक वर्ष २ हजार जनाको मृत्यु, ५० हजारभन्दा बढी घाइते

सडक दुर्घटनाबाट प्रत्येक वर्ष २ हजार जनाको मृत्यु, ५० हजारभन्दा बढी घाइते

काठमाडौं : सडक दुर्घटनाका कारण नेपालले प्रतिवर्ष कुल गार्हस्थ उत्पादन (जिडिपी) को ५ प्रतिशतसम्म आम्दानी गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ।

राजधानी काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपालमा हरेक वर्ष सडक दुर्घटनाका कारण २ हजार मानिसको मृत्यु हुँदा ५० हजारभन्दा बढी मानिस घाइते हुने तथ्य सार्वजनिक भएको छ। 

विश्व सडक यातायात पीडितको सम्झना दिवसको सन्दर्भमा संयुक्त राष्ट्र संघको सडक सुरक्षा सम्बन्धी योजनाको राष्ट्रिय लोकार्पण कार्यक्रममा स्वतन्त्रता अभियान नेपालका प्रमुख रितु भटट्ले तथ्य सार्वजनिक गर्दै सडक दुर्घटनामा सबैभन्दा धेरै पैदल यात्रुको मृत्यु हुने बताइन्। 

तथ्यांक सार्वजनिक गर्दै भटट्ले नेपालमा सडक दुर्घटना अकाल मृत्युका चौथो कारण भएको बताइन्। 

सडक सुरक्षाका सम्बन्धमा संयुक्त राष्ट्रसंघले सन् २०२० को फेब्रुअरीमा स्विडेनको स्टकहोममा साझा घोषणापत्र सार्वजनिक गरेको भन्दै उनले सडक सुरक्षाका ५ आधार स्तम्भ भएको बताइन्। 'सडक सुरक्षा व्यवस्थापन, सडक पूर्वाधार विकास, सुरक्षित सवारी, सुरक्षित सडक व्यवहार र दुर्घटना पश्चातको सेवा यी पाँच आधार सन्दर्भ हुन् जसले सडक दुर्घटना न्यूनीककर गर्छ,' उनले भनिन्। 

कार्यक्रममा बोल्दै अभियान्ता गोविन्द भट्टराईले बाँच्न पाउने आम नागरिकको अधिकार भएकाले नागरिकको ज्यान सुरक्षा गरिदिन सरोकारवाला निकायहरुलाई आग्रह गरे। सडक दुर्घटना पश्चात् विभिन्न समिति बने पनि समितिले तयार पारेको प्रतिवेदन लागू गराउन सरकार चुकेको उनले बताए।

'सडक दुर्घटना पश्चात् छानबिन समिति बन्छ, बालुबाटारमा हाहाकार मचिन्छ, समिति बनाएर जनतालाई उल्लु बनाउने काम बाहेक अरु केही भएको छैन, समितिको प्रतिवेदननै लागू हुँदैन,' उनले भने। 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, भौतिक पूर्वाधार मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति थियो।

मंसिर ५, २०७८ आइतबार १८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।