चुनाव हारेका दाङका तरुण दल अध्यक्षले कुटे पार्टी सचिव

चुनाव हारेका दाङका तरुण दल अध्यक्षले कुटे पार्टी सचिव

दाङ : पार्टीको अधिवेशनको विवादमा काँग्रेसको भातृ संस्था नेपाल तरुण दलका जिल्ला अध्यक्ष टिका घर्तीले काँग्रेस दाङका सचिव शङ्कर डाँगीलाई कुटेका छन्। पुर्वमन्त्री  तथा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरिको घर अगाडि काँग्रेसको महाधिवेशनलाई लिएर भएको विवादमा घर्तीले डाँगीलाई कुटेका हुन्।

उनी शनिवार भएको प्रदेशको निर्वाचनमा अध्यक्षको उम्मेदवार भएर हारेका थिए। उनले चुनाव हराउन भूमिका खेलेको भन्दै घर्तीले बजारमा कुटेका हुन्।

चुनाव हारेपछि उनले सचिवलाई पिट्ने धम्की दिँदै आएका थिए। घटनाबारे बुझ्न खोज्दा अध्यक्ष घर्तीले फोनमा कुराकानी गर्दै केटाहरू बोलाउन र थुन्न भनेर प्रतिक्रिया दिए। फोनमा पनि उनी आक्रोशित नै थिए।

उता, जिल्ला प्रहरी कार्यालय दाङले चुनावको विषयलाई लिएर सामान्य भनाभन भएको र त्यो बारे बुझ्न घटनास्थलमा प्रहरी पठाइएको बताएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले सामान्य भनाभन भएको र सो कुरा बारे प्रहरीले बुझ्न आफूले टोली पठाएको बताए।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले भिडभाड भएको भनेर कुरो आएपछि आफू त्यहाँ पुगेको र पार्टीका नेताहरूले आन्तरिक विषय भएको बताएपछि फर्किएको बताए। 

मंसिर ५, २०७८ आइतबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।