काँग्रेस महाधिवेशन : झापा, मोरङ, सुनसरीमा देउवा समूह कमजोर

काँग्रेस महाधिवेशन : झापा, मोरङ, सुनसरीमा देउवा समूह कमजोर

इटहरी : राजनैतिक हिसाबमा महत्त्वपूर्ण मानिएका झापा, मोरङ र सुनसरीमा भएको नेपाली काँग्रेसको प्रदेश निर्वाचनमा संस्थापन पक्ष कमजोर देखिएको छ।

शनिवार सम्पन्न अधिवेशनमा संस्थापन पक्षका बलिया नेताहरूको क्षेत्रमै इतर पक्ष हाबी भएको हो। संस्थापन पक्षका बलिया नेताहरूको क्षेत्रमानै इतर पक्षको उम्मेदवार विजयी भएका छन्।

काँग्रेस महामन्त्री दाबी गर्दै आएका विश्वप्रकाश शर्माको क्षेत्र झापामा इतर प्यानलका उम्मेदवार विजयी भए। उनको निर्वाचन क्षेत्र नम्बर १ को (क) मा इतर प्यानलका हरि बुढाथोकी विजयी भए।

(ख) मा भने संस्थापन शर्मा पक्षका सन्तोष न्यौपाने निर्वाचित भएका छन्। त्यससँगै शर्मा प्यानलबाट ५ नम्बर क्षेत्रको (क) मा जीवनकुमार राई र (ख) मा रवि न्यौपाने विजयी भएका हुन्।

नेपाली काँग्रेस झापाको प्रचार विभागका प्रमुख कृष्ण हुमागाईँका अनुसार क्षेत्र नम्बर २ (क) मा लक्ष्मी आचार्य र (ख) मा किरण श्रेष्ठ दुवै इतर कृष्ण प्रसाद सिटौला प्यानलबाट विजयी भएका हुन्।

क्षेत्र नम्बर ३ को (क) मा र (ख) मा इतर पक्षबाट क्रमशः चिन्तामणि खरेल र तुलसीप्रसाद ओली विजयी भएका छन्। ४ नम्बर निर्वाचन क्षेत्रको (क) मा विनोद ढकाल र (ख) मा ख्याम सिटौला दुवै इतर प्यानलका हुन्।

प्रदेश १ कै महत्त्वपूर्ण जिल्ला मानिएको मोरङमा इतर प्यानल हाबी भएको छ। जिल्लाभर जम्मा १२ प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन शेरबहादुर देउवा पक्षमा जम्मा २ जना मात्र सभापतिमा निर्वाचित भएका छन्। चार प्रदेश निर्वाचन क्षेत्रमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। 

निर्वाचन क्षेत्र नम्बर १ (क) मा नरबहादुर तामाङ र (ख) मा राजकुमार लामा निर्वाचित भएका छन्। लामा सर्वसम्मत भएका हुन। यसै गरी निर्वाचन क्षेत्र नम्बर २ (क) मा कन्यैहालाल राजवंशी र (ख) देवेन्द्र बस्नेत विजयी भएका छन् । कन्हैयालाल सर्वसम्मत भएका चयन भए।

निर्वाचन क्षेत्र नम्बर ३ (क) गङ्गा याक्खा र (ख) मा जगतलाल चौधरी निर्वाचित भए। क्षेत्र नम्बर ४ (क) मा एकाराम माझी र (ख) मा सुबोध निरौला निर्वाचित भएका छन्।

निर्वाचन क्षेत्र नम्बर ५ (क) अचानु खाँ गन्गाई र (ख) जितु साह सर्वसम्मत चयन भएका उनीहरू दुवै संस्थापन पक्षका अमृत अर्याल निकट हुन्।

काँग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको निर्वाचन क्षेत्र नम्बर ६ (क) मा दीपक भगत र (ख) मा संस्थापन पक्षका मधुबाबु तिवारी विजयी भएका छन्।

मोरङको समग्र प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा इतर पक्ष बलियो देखिएको हो । हरेक निर्वाचन क्षेत्रबाट १६ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएका छन् ।

जिल्लाबाट जम्मा १९२ जना प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। त्यसमा पनि इतर पक्षकै बाहुल्यता रहेको छ। मोरङ डा कोइराला सहित, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, गुरुराज घिमिरे र संस्थापन पक्षका अमृत अर्यालको गृह जिल्ला हो।

उता सुनसरीमा संस्थापन पक्षका प्रभावशाली नेताहरू ज्ञानेन्द्र बहादुर कार्की, विजय कुमार गच्छदार, मीन विश्वकर्मा, सिताराम मेहेताको प्रभाव कम देखिएको छ। केन्द्रमा पहुँच भए पनि स्थानीय कार्यकर्तामा उनीहरू कमजोर देखिए। मीन विश्वकर्माको निर्वाचन क्षेत्र सुनसरी १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा इतर प्यानल विजयी भएको छ।

१ (क) मा अनिल श्रेष्ठ र (ख) मा मुरारी भट्टराई विजयी भएका छन्। सिताराम मेहेताको निर्वाचन क्षेत्र २ को (क) मा उनकै उम्मेदवार सुवेक्छु देवान प्यानलै विजयी भएको छ।

उता ख मा भने इतर पक्षका श्यामलाल मेहेतामा सहमति भएको छ। विजय कुमार गच्छदारको निर्वाचन क्षेत्र ३ (क) मा इतर प्यानलका दीपक ढकाल र (ख) मा गच्छदार निकट किरण चौधरी सर्वसम्मत सभापति भएका छन्।

उता कार्कीको निर्वाचन क्षेत्र ४ को (क) मा उनका उम्मेदवार उपेन्द्र कटवाल र (ख) मा इतर पक्षका भिखारी मण्डल निर्वाचित भएका छन्। 

मंसिर ५, २०७८ आइतबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।