काँग्रेस काठमाडौँको क्षेत्रमा प्रकाशमान-गगन थापाको पकड, २० मध्ये १८ उम्मेदवार विजयी

काँग्रेस काठमाडौँको क्षेत्रमा प्रकाशमान-गगन थापाको पकड, २० मध्ये १८ उम्मेदवार विजयी

काठमाडौँ : वडा र स्थानीय निकायको निर्वाचनमा सफल भएको प्रकाशमान सिंह र गगन थापाको समूह नेपाली काँग्रेसको काठमाडौँको प्रदेश सभाको निर्वाचनमा समेत सफल भएको छ।

पालिकाको निर्वाचनमा ११ मध्ये ८ मा सिंह र थापा समूहका उम्मेदवारहरू विजयी भएका थिए। काठमाडौँको १० वटा निर्वाचन क्षेत्रको २० प्रदेशमा भएको निर्वाचनमा सिंह-थापा समूहका १८ उम्मेदवारले जितेका छन्।

काठमाडौँमा पार्टी संस्थापनतर्फबाट शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूह मिलेका थिए। उनीहरूको तर्फबाट वडा र पालिकाको निर्वाचनमा झैँ भीमसेनदास प्रधानले नेतृत्व गरेका थिए। तर सो समूह २ क्षेत्रको उम्मेदवार मात्र जिताउन सफल भएका छन्।

संस्थापनका तर्फबाट उम्मेदवार बनेकामध्ये निर्वाचन क्षेत्र ३ ख मा विमल ठकुरी र निर्वाचन क्षेत्र ६ को (ख) मा विष्णुभक्त तिम्सिना मात्रै सभापतिमा निर्वाचित भएका छन्। ६ नम्बर क्षेत्र प्रधानकै हो। तर उनले आफ्नै क्षेत्रको दुवै प्रदेशमा आफ्नो उम्मेदवारलाई जिताउन सकेनन्।

सिंह-गगन समूहबाट उम्मेदवार बनेका निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट प्रह्लाद कार्की र (ख) बाट सुमनकुमार श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। यो प्रकाशमानकै निर्वाचन क्षेत्र हो।

क्षेत्र नम्बर २ को (क) बाट ध्रुव केसी र (ख) बाट उद्धव खड्का सभापति भए। क्षेत्र नम्बर ३ को (क) बाट श्रीराम चालिसे सभापति भए। गगन थापाको निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट विमलकुमार होडा र (ख) बाट रामप्रसाद लुइँटेल सभापतिमा निर्वाचित भएका छन्।

क्षेत्र नम्बर ५ को (क) बाट दिनेश डङ्गोल र (ख) बाट राजु खड्का सभापतिमा निर्वाचित भएका छन्। डगोल वडा नम्बर ८ का वडाध्यक्ष समेत हुन्। सो प्रदेशमा सिंह प्यानलबाट नरोत्तम बैध्यले निर्वाचन जितेका थिए।

क्षेत्र नम्बर ६ को (क) बाट ख्यामराज तिवारी सभापति भएका छन्। क्षेत्र नम्बर ७ को (क) बाट नवीन मानन्धर र (ख) बाट वासुदेव लामा सभापतिमा निर्वाचित भएका छन्। क्षेत्र नम्बर ८ को (क) बाट ईन्द्रमानसिंह सुवाल र (ख) बाट शिव खनाल सभापति भएका छन्।

क्षेत्र नम्बर ९ को (क) बाट मोहनबहादुर बस्नेत र (ख) बाट राजेन्द्र भट्टराई सभापति भए। यसै गरी क्षेत्र नम्बर १० को (क) बाट शैलेश मानन्धर र (ख) बाट धर्मानन्द श्रेष्ठ काँग्रेसको क्षेत्रीय सभापति भएका छन्।

मंसिर ५, २०७८ आइतबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।