भीम रावलले गरे एमाले अध्यक्षको उम्मेदवारी घोषणा
काठमाडौँ : एमाले उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।
केही समय अगाडि उनले एक कार्यक्रममा अध्यक्षमा उम्मेदवारी दिने सोच बनाएको बताए पनि औपचारिक घोषणा गरेका थिएनन्। एमालेमा अध्यक्षमा केपी ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउने तयारी भइरहेको बेला रावलले औपचारिक घोषणा गरेर निर्वाचन हुने पक्का गराएका हुन्।
१० बुँदे कार्यान्वयनको सर्तमा अन्तिम अवस्थामा माधव नेपालको साथ छाडेर एमालेमै फर्किएका रावलसहितका १० नेताबिचै अहिले एकमत छैन। योगेश भट्टराईले रावलले जहाँ आइतबार अध्यक्षमा उम्मेदवार दिने घोषणा गरे त्यही अध्यक्षमा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनुपर्ने धारणा राखिसकेका छन्।
घनश्याम भुसाल लगायतका अन्य नेताहरूले समेत रावलको अध्यक्षमा उम्मेदवारी दिनेबारे औपचारिकरुपमा केही बोलेका छैनन्।
उनले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अध्यक्षको उम्मेदवारी घोषणा गरेका थिए। रावलका अनुसार उनले एमाले पार्टी कार्यालय थापाथलीमै पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने प्रयास गरेका थिए। तर महासचिवले महाधिवेशनको व्यस्तताको कारणले कार्यालयका कोठा खाली नभएकाले क्लबमा पत्रकार सम्मेलन गरेको बताएका थिए।
एमाले महाधिवेशन मङ्सिर १० देखि १२ सम्म चितवनमा हुँदैछ।
मंसिर ५, २०७८ आइतबार १६:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।