पतञ्जलीले टेलिभिजन खोल्नु कानूनको ठाडो उल्लंघन: पत्रकार महासंघ

पतञ्जलीले टेलिभिजन खोल्नु कानूनको ठाडो उल्लंघन: पत्रकार महासंघ

काठमाडौंः नेपाल पत्रकार महासंघले पतञ्जली योग पीठले नेपालमा टेलिभिजन स्थापना गर्नु कानूनको उल्लंघन भएको बताएको छ। आइतबार महासंघका महासचिव राेशन पुरीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। 

 

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'नेपालको प्रचलित कानूनले समेत सञ्चारमाध्यममा विदेशी लगानीलाई निषेध गरेको अवस्थामा पतञ्जली योग पीठले टेलिभिजन खोल्नु नेपालको प्रचलित कानूनको ठाडो उल्लंघन हो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायको सूचीमा आमसञ्चारमाध्यमहरूलाई राखेको कानूनी प्रवन्धप्रति महासंघ सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ।'

यस्तै दर्ता प्रक्रिया समेत पूरा नगरी टेलिभिजन सञ्चालन गर्न लागिएको भन्दै महासंघले राष्ट्रिय प्रशारण ऐन २०४९, राष्ट्रिय प्रशारण नियामावली २०५२ र प्रशारणसम्बन्धी निर्देशिका स्मरण गराएको छ। 

'स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्ने गरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावप्रति सबै गम्भीर र संवेदनशील हुन आवश्यक रहेको निष्कर्ष महासंघको छ', विज्ञप्तिमा भनिएको छ। 

मंसिर ५, २०७८ आइतबार १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।