प्रहरीमा निमित्त आइजिपीको राजनीतिले 'साथी गृहमन्त्री'सँग बिग्रियो एआइजीको सम्बन्ध

प्रहरीमा निमित्त आइजिपीको राजनीतिले 'साथी गृहमन्त्री'सँग बिग्रियो एआइजीको सम्बन्ध
प्रहरी महानिरीक्षक क्षेत्रीलाई बिदाई गर्दै एआइजी शाही। तस्बिर : नेपाल प्रहरी

काठमाडौँ : निमित्तको काम कार्यालय प्रमुख नहुँदा प्रशासनिक गतिविधि ठप्प नहोस् अनि अत्यावश्यक निर्देशनमा कमान्ड कायम रहोस् नै हो। तर नेपाल प्रहरीमा अहिले यही निमित्तको असन्तुष्टि भुसको आगो झैँ फैलिएको छ।

प्राय प्रहरी महानिरीक्षकले अत्यावश्यक अवस्था वा देश बाहिर जानु परेको अवस्थामा वरिष्ठतामा पहिलो नम्बरमा रहेका एआइजीलाई निमित्त दिने गर्छन्। कुनै-कुनै आइजिपीले प्रहरी प्रधान कार्यालयमा रहेका एआइजिपीलाई निमित्त दिने गरेका थिए।

यस अगाडि भारत जाँदा एआइजी प्रद्युम्न कार्कीलाई निमित्त दिँदा प्रहरी सङ्गठनमा स सानो भुईँचालो नै आयो। एआइजी हरिबहादुर पाललाई यही बिचमा मानव अधिकार उलङ्घनमा पक्राउको तयारी गरेको अफवाहसमेत फैलाइयो। एआइजी पाल हल्लाकै भरमा दोषी भए कारवाही भोग्न तयार छु भन्दै अन्तर्वार्तादिँदै हिडेका थिए।

आइतबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा हुन लागेको इन्टरपोलको महासभामा सहभागी हुन देश बाहिर जाँदा निमित्तको जिम्मेवारी पाए अर्का एआइजी नीरजबहादुर शाहीले।

२०७८ मङ्सिर ७ देखि ९ गतेसम्म हुने महासभामा क्षेत्री जाँदा आफू वरिष्ठतामा अगाडि भए पनि निमित्त नदिएको भन्दै महानगरीय प्रहरी कार्यालय प्रमुख रहेका पाल बिदामा बसे। आइजिपी क्षेत्रीसँगै एआइजी प्रद्युम्न कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत टर्की गएका छन्।

क्षेत्रीलाई प्रहरी अतिरिक्त महानिरीक्षक शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

प्रहरी प्रधान कार्यालयको सङ्गठनात्मक संरचना अनुसार प्रहरी महानिरीक्षकको सचिवालयपछि कार्य एवं अपराध अनुसन्धान विभाग, मानव स्रोत तथा प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी अस्पताल अनि महानगरीय प्रहरी अस्पताल पर्छ।

अपराध अनुसन्धानमा प्रद्युम्न कार्की,  मानव स्रोतमा विश्वराज पोखरेल र प्रतिष्ठानमा नीरजबहादुर शाही छन्। एआइजीको वरिष्ठतामा पहिलो नम्बरमा रहेका पाल प्रहरी प्रधान कार्यालयको संरचनामा पाँचौँ नम्बरको कार्यालयका प्रमुख छन्।

बढुवा हुँदाको क्रमसङ्ख्या भन्दा पनि सङ्गठनात्मक नेतृत्वको आधारमा यस अगाडि कार्कीले निमित्त पाएका थिए। सङ्गठनात्मक संरचना र जिम्मेवारी अनुसार अपराध अनुसन्धानका एआइजी कार्की प्रहरी महानिरिक्षकसँगै विदेश जाँदा एआइजी खटिने कार्यालयको संरचनामा दोस्रो स्थानमा रहेको मानव स्रोतका एआइजी विश्वराजले निमित्त पाउनुपर्ने हो। पोखरेललाई नदिएर सङ्गठन संरचनामा तेस्रो रहेको प्रतिष्ठानका प्रमुखलाई निमित्त दिँदा पनि पोखरेलले आपत्ति जनाएका छैनन्। तर पाल भने विद्यामा बसेका छन्।

साथी गृहमन्त्रीसँग बिग्रियो सम्बन्ध

एआइजी पाल र वर्तमान गृहमन्त्री बालकृष्ण खाँण पार्टी राजनीतिदेखि नै निकट मित्र हुन्। त्यसैले त उनको भइसकेको सरुवा समेत खाँण गृहमन्त्री भएपछि रोकेका थिए। काँग्रेसको नेतृत्वमा सरकार बनेपछि पाल प्रहरी महानिरीक्षकको रोल क्रममा नभए पनि आइजिपी हुन सक्रिय भएका थिए। त्यसका लागि प्रहरीमा उमेर हद्दका आधारमा ३० वर्षमा हुने अनिवार्य अवकाशको प्रावधान हटाएर सरकारले चाहेमा २ वर्ष थप्न सक्ने प्रावधान राख्न गृहकार्य भएको थियो।

तर पछिल्लो समय गृहमन्त्री खाँण र पालको सम्बन्ध चिसिँदा यो प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन। स्रोतका अनुसार यसको कारण हुन् महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंह। १२ महिना नपुग्दै गृहमन्त्री खाँणले सिंहको सरुवाको निर्णय गराएका थिए। तर निर्णय कार्यान्वयन हुनु अगाडि नै पाल समेत सक्रिय भएर प्रधानमन्त्री शेरबहादुर देउवा मार्फत सरुवा बदल भएपछि खाँण आफ्नै राजनीतिक सहयात्रीसँग रिसाएका छन्।

त्यसको नकारात्मक प्रभाव पालको आइजिपी हुने प्रयासमा समेत परेको छ। वर्तमान आइजिपी क्षेत्रीको कार्यकाल ४ महिना बाँकी छ। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले यो बिचमा प्रहरी नियमावलीमा संशोधन गर्न चाहेका छन्। तर गृहमन्त्री खाँणले चासो राखेका छैनन्। पार्टीको महाधिवेशनको मुखमा देउवा आफ्नो मुख्य सहयोगी खाँणलाई पालका लागिका लागि बिच्काउने पक्षमा देखिएका छैनन्।

क्षेत्रीले कमान्ड लुज गरेको आरोप

तर पछिल्लो समय प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको हातमा प्रहरीको प्रशासनिक निर्णय खुस्कँदै गएको छ। त्यसको प्रभाव प्रहरीको सरुवा र बढुवामा देखिएको छ। प्रहरी निरीक्षकहरूको सरुवा नगरी अधिकांशको काज निकालिएको छ भने डिएसपीहरूको सरुवामा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमा सरुवा नगर्ने नीति उलङ्घन भएको छ।

डिएसपीको सरुवा गर्दा कार्यालय प्रमुखको जिम्मेवारी  पाउन नसकेका सक्षम प्रहरी अधिकृतलाई सहयोगीको रूपमा खटाएर निरन्तर कार्यालय प्रमुख भएकाहरूलाई पुन कार्यालय प्रमुखमै सरुवा गरेका थिए। कार्यालय प्रमुखबाट कार्यालय प्रमुखमै सरुवा नहुने मापदण्ड उनले कार्यान्वयन गर्न सकेनन्।

सङ्गठनमा तुलनात्मक स्वच्छ छविका मानिने क्षेत्रीले व्यक्ति अनुसारको मापदण्ड हेरेपछि सङ्गठनका सदस्यहरू 'बोल्ने मात्र तर काम गर्न नसक्ने आइजिपी' भन्दै उनको आलोचनामा उत्रिएका छन्।

मंसिर ५, २०७८ आइतबार १४:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।