कानून व्यवसायीको आज पनि प्रदर्शन, प्रधानन्यायाधीशले तोके ११ वटा इजलास
काठमाडौंः सर्वाेच्च अदालत परिसरमा आज पनि नेपाल बार एसोसिएसनसहित विभिन्न कानून व्यवसायीहरूले प्रदर्शन गरिरहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि कानून व्यवसायी प्रदर्शनमा उत्रिएका हुन्।
बार एसोसिएसनले गत कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएको छ। सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरूले कात्तिक पहिलो साताबाटै इजलास बहिष्कार गर्दै आएका छन्।
यस्तै आजको लागि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राणाले ११ वटा इजलासमा पेसी तोकेका छन्। आज तोकिएका इजलासमा १० वटा संयुक्त र एउटा एकल इजलास रहेको छ।
आजका लागि ३३४ वटा मुद्दामा पेसी तोकिएको छ। आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा पेसी तोकिएको छ।
यद्यपि प्रधानन्यायाधीशले आफूलाई भने इजलासमा राखेका छैनन्। शुक्रबार पनि राणाले आफूबाहेकको इजलास गठन गरेका थिए।
मंसिर ५, २०७८ आइतबार ११:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।