दाङमा देउवा पक्ष कमजोर, ६ मध्ये ५ प्रदेश सभा क्षेत्रमा दीपक गिरी बलियो
दाङः कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी आफ्नो गृहजिल्ला दाङमा बलियो देखिएका छन्। नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि प्रदेश सभा निर्वाचन क्षेत्रअन्तर्गत दाङमा सम्पन्न निर्वाचन परिणामलाई हेर्दा गिरीले नेतृत्व गरेको संस्थापन इतर समूहले बलियो पकड कायम राखेको हो।
पार्टी सभापति शेरबहादुर देउवानिकट संस्थापन समूह दाङमा पूरै कमजोर देखिएको छ। कांग्रेस दाङको ६ वटा प्रदेश क्षेत्रको निर्वाचनको नतिजाअनुसार ५ वटामा गिरी समूहको बलियो पकड रहेको छ।
गिरीको आफ्नै निर्वाचन क्षेत्र दाङ क्षेत्र नम्बर ३ को (क)मा सभापतिमा देवेन्द्रप्रसाद रिजाल, (ख)को सभापतिमा खिमबहादुर वलि निर्वाचित भएका छन्।
यस्तै क्षेत्र नम्बर १को (क)को प्रदेश सभापतिमा श्रीपद चौधरी, (ख)को प्रदेश सभापतिमा दिनेश गिरी निर्वाचित भएका छन्।
क्षेत्र नम्बर २(क)को प्रदेश सभापतिमा प्रकाश श्रेष्ठ र (ख)को प्रदेश सभापतिमा अभियान बस्नेत निर्वाचित भएका छन्।
संस्थापन समूहले जितेको २ (क)को प्रदेश सभापतिका लागि कडा प्रतिष्पर्धा देखिएको थियो। अब दाङमा संघअन्तर्गतको निर्वाचन क्षेत्रको चुनाव मंसिर ६ गते हुँदैछ भने जिल्ला अधिवेशन मंसिरको १० गते हुने भएको छ।
मंसिर ५, २०७८ आइतबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।