दाङबाट ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

दाङबाट ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

दाङः प्रहरीले ब्राउनसुगरसहित आमा-छोरालाई पक्राउ गरेको छ। जिल्लाको तुलसीपुरमा एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा-छोरालाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा सानो पुरिया  ९९ थान र ठूलो पुरिया एक गरी १९ ग्राम ७१० मिलीग्राम ब्राउनसुगरसहित सुशीला र उनका छोरा रोहन श्रेष्ठलाई पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार उनीहरूले ब्राउनसुगर बिक्री वितरणका लागि पुरिया बनाउँदै गरेको अवस्थामा फेला पारिएको हो। प्रहरीका अनुसार आमा–छोरा नै ब्राउनसुगर कारोबारी हुन् । 

उक्त कारोबारमा उनका श्रीमान् वसन्त श्रेष्ठको पनि संलग्नता रहेको भन्दै अनुसन्धानका लागि खोजी जारी रहेको प्रमुख अर्यालले बताए। 

यसअघि तुलसीपुर बसपार्कबाट ब्राउनसुगरको कारोबार भइरहेको सूचनाका आधारमा जाँच गर्दा तुलसीपुर–५ बसपार्क निवासी २५ वर्षीय धीरज बुढाथोकीको साथबाट ५४० मिलीग्राम र बबई गाउँपालिका–४ घर भई हाल तुलसीपुर–६ बरुवागाउँमा डेरा गरी बस्दै आएका प्रख्यात शाहको साथबाट २६० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ।

मंसिर ५, २०७८ आइतबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।