प्रेमकुमारीको उद्यम: द्वन्द्वले जागिर खोस्यो, संघर्षले वार्षिक ६० लाखको कारोबार
उनको जागिरमा अरू कसैले होइन, खुद राज्यपक्षले आँखा लगाएको उनी बताउँछिन्। प्रेमकुमारी ०३८ सालदेखि नै शिक्षण पेशामा आवद्ध थिइन्। रोल्पाको एक सामुदायिक विद्यालयमा पढाउन थालेको १० वर्षपछि ०४८ सालमा उनी स्थायी शिक्षिका बनिन्।
उनी त्यहीँ अध्यापनरत रहँदा देशमा माओवादी विद्रोह सुरु भयो। अझ माओवादीको आधार ईलाका पनि रोल्पा नै थियो।
प्रेमकुमारीको आँखैअघि धेरैले परिर्वतनका सुनौला सपना देखेर बन्दुक समाए। उनी शिक्षण पेशा नै अँगाल्छु भन्दै लागिन्।
विद्रोहपछि उनीमाथि राज्यपक्षले धम्काउने, थर्काउने मात्र होइन उनीमाथि अनावश्यक केरकार र निगरानी समेत गर्न थाल्यो।
प्रेमकुमारी पढाउनै नसक्ने भइन्। स्थायी शिक्षिका भएको ९ वर्षमै उनी जागिर छाड्न बाध्य भइन्। उनी रोल्पाबाट विस्थापित हुँदै दाङको घोराही झरिन्।
'द्वन्द्वले शिक्षण पेशाबाट विस्थापित बनायो। त्यही घटनाक्रमले अहिले अल्लो उद्यमीको पहिचान दिएको छ। घोराही आएपछि जीवनको नयाँ अध्याय सुरु भयो', उनले भनिन्।
अल्लो उद्यमी प्रेमकुमारी
प्रेमकुमारी अहिले अल्लो उद्यमी भएकी छिन्। उनले ०६२ सालमा प्रेम नि.स. अल्लो (पुवा) धागो तथा तयारी पोशाक उद्योग स्थापना गरेकी हुन्।
तर ०५८ देखि ०६२ को बीचमा भने उनले सिलाइ कटाइको काम गर्थिन्। धेरैले उनलाई सिलाइ कटाइमा समेत भर्ना लिन मानेका थिएनन्। तर खोज्दै जाँदा एक सेन्टरले भर्ना लियो।
२ वर्ष जति सिलाइ कटाइले नै घरखर्च धान्यो। तर उनलाई केही फरक गर्ने हुटहुटी भने छँदै थियो। उद्यममा रुचि थियो।
सानोमा बाआमाले अल्लोको धागो काडेको देखेकी थिइन्। उनले सोचिन्- 'अब अल्लोकै उद्यम गर्छु।'
'धेरै जना सशस्त्र द्वन्द्वकै कारण घोराही आएका थिए। उनीहरूलाई जागिर पनि दिने सोचले उद्यमको योजना बनाएँ। केही सीप मसँग पनि थियो। त्यही कारण उद्योग स्थापना गर्ने सोच आएको हो', उनले भनिन्।
३ लाख लगानी राखेर उद्योगको सुरुवात गरिन् । रोल्पा, रुकुम, डोटी, अछाम लगायतका जिल्ला जिल्लाबाट अल्लो मगाउन थालिन्।
केही वर्षपछि उनले चिनारी महिला साझेदारी समूह उद्योगको नाममा दाङको घरेलु तथा साना उद्योगमा दर्ता गराइन्।
प्रेमकुमारीले अहिले अल्लोका विभिन्न तयारी पोशाक कोट, स्टकोट, विभिन्न प्रकारका टोपी, पछ्यौरा, जातीय पोशाक, भाङ्ग्रा, छड्के, गलबन्दी, सललगायत उत्पादन गर्दै आएकी छिन्। विभिन्न आकारका स्कुल झोला, ल्यापटप झोला, क्यामरा झोला पनि उनको उद्योगमा बन्छ।
यस्तै अल्लोकै जुत्ताचप्पल पनि उनले बनाउँदै आएकी छिन्। उनले उत्पादन गरेका सामग्री बुटवल, नेपालगञ्ज, पोखरा, चितवन, काठमाडौं, विराटनगर, वीरगञ्ज, धनगढी जस्ता ठूला शहरमा पुगेका छन्।
अहिले उद्योगमा १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। अप्रत्यक्ष रूपमा ५ सय बढीले रोजगारी पाएका छन्। ३ लाखबाट सुरु भएको उद्योगको अहिले ९० लाख लगानी पुगेको छ।
यही अल्लोबाट बनेका सामाग्री बिक्री गरेर वार्षिक १० लाख बढी आम्दानी हुने उनले बताइन्। कारोबार मात्र उद्योगमा ६० लाख बढीको हुन्छ।
हाल अल्लोबाट बनेका सामाग्रीको बजार बढेको उनी बताउँछिन्। जाडो, गर्मी र स्वास्थ्यका हिसावले पनि राम्रो मानिने भएकाले अल्लोका कपडाबारे आम नागरिकमा चेतना समेत जाग्न थालेको उनले बताइन्।
'अल्लो के हो? यो कसरी बन्छ? यसको उपयोगीता के हो? भनेर हामीले देशमा लाग्ने मेला महोत्सवबाट नागरिकलाई चिनाउने क्रम जारी छ', उनले भनिन्।
अहिले अल्लो नेपालसहित जापान, बेलायत, अमेरिका लगायका देशमा जान्छ। तर सिधै उद्योगबाट नगई व्यापारीहरूको माध्यमबाट निर्यात हुने उनले बताइन्।
अल्लो उद्यमीको परिचय बनाएकी प्रेमकुमारीले जिल्ला स्तरीय र क्षेत्रीय पुरस्कारहरू प्राप्त गरेकी छिन्। २ वर्षअघि उनी घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा देशभरिका उद्यमीहरूलाई उछिन्दै सर्वोत्कृष्ट उद्यमीको रूपमा सम्मानित भएकी थिइन्।
सरकारको प्रोत्साहन जरुरी
पहाडी जनजातिहरूको संस्कृतिसँग जोडिएको अल्लोबाट बनेका पोशाकहरूको संरक्षणमा राज्य लाग्नुपर्ने उनले बताइन्। चिनारी महिला साझेदारी अल्लो उद्यमी समूहको अध्यक्ष समेत रहेकी पुनले राज्यले उद्योगीलाई प्रोत्साहन गर्न सके नेपालमा अल्लो उद्योगले फड्को मार्ने बताइन्।
'चाल्ने सिस्नोलाई धागो बनाउने प्रक्रिया र त्यसपछि कपडा तयार पार्दा अहिले पनि धेरै उद्योगीको लागत बढी पर्छ। त्यही कारण अल्लोको कपडाको मूल्य बढी पर्न जान्छ र चीनबाट आउने कपडासँग प्रतिस्पर्धा गर्न सकिँदैन', उनले भनिन्।
उनले राज्यले अल्लोजन्य उत्पादनको निर्यातका लागि भूमिका खेल्नुपर्ने समेत बताइन्।
अल्लो समुद्री सतहदेखि एक हजार २०० मिटरमाथिको पहाडी भूभागमा पाइने वनस्पति हो। अल्लोको बोक्रामा हुने रेसा नरम, बलियो र चम्किलो हुने भएकोले धागो बनाउन प्रयोग गरिन्छ।
मंसिर ५, २०७८ आइतबार ०८:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।