बारले स्थगित गर्यो राष्ट्रिय सम्मेलन, तोकेन नयाँ मिति
बार केन्द्रीय कार्यसमितिको बैठकले मङ्सिर २४,२५ र २६ गते पोखरामा गर्ने भनेको सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।
बार एसोसिएसनले कार्तिक १४ गतेदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै विरोध प्रदर्शन गर्दै आएको छ।
कानुन व्यवसायीलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा भोलि आइतबार देशभरका सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाहरूमा बहस पैरवी नगर्ने निर्णय गरिएको विज्ञप्तिमा लेखिएको छ।
बार विज्ञप्तिमा एकाइहरूलाई सो बमोजिम गर्न, गराउनु हुन, बहस नगरिने ब्यहोराको सम्बन्धित अदालतमा पत्राचार गर्न अनुरोध पनि गरिएको छ।
बार एसोसिएसनले अहिले सम्पूर्ण ध्यान आन्दोलनमा दिनु परेकाले राष्ट्रिय सम्मेलन हाललाई स्थगित गर्नु परेको बारकी उपाध्यक्ष रक्षा बस्यालले बताइन्।
‘कोभिड लगायत प्रधानन्यायाधीशविरुद्ध जारी आन्दोलनका कारण पोखरामा गर्ने भनिएको सम्मेलन हाललाई स्थगित गरेका छौँ,’उनले उकेरासँग भनिन्,‘सम्मेलन हुने नयाँ मिति तोकेका छैनौ।’
बार एसोसिएसनमा निर्वाचित हुने नयाँ कार्यसमितिले आफ्नो तीन वर्षे कार्यकालमा एक पटक देशभरका कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन गर्दै आएको छ। वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा रहेको बार कार्यसमितिको कार्यकाल चैतसम्म छ।
‘तीन वर्षे कार्यकालमा एक पटक राष्ट्रिय सम्मेलन हुने गरेको छ,’उपाध्यक्ष बस्यालले भनिन्,‘ बार केन्द्रीय समितिले राष्ट्रिय सम्मेलनको नयाँ मिति तोक्नेछ।’ सम्मेलनमा देशभरका २० हजार कानुन व्यवसायीलाई सहभागी गराइने उनले बताइन।
मिति नतोकिए पनि बार एसोसिएसनले राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने तयारी गरेको छ।
मंसिर ४, २०७८ शनिबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।