एमाले महाधिवेशन : प्रचण्ड आउने विश्वास, माधव नेपाललाई बेवास्ता
राष्ट्रिय दलका अरू नेतालाई निम्तो गरेको एमालेले नेकपा एकीकृत समाजवादी पार्टीका नेतालाई नबोलाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर तामाङले पार्टी गठनको प्रक्रियाप्रति असहमति रहेकाले नबोलाएको बताए।
‘हाम्रो यसमा प्रस्टै धारणा छ–माधव नेपालको पार्टी गठनको प्रक्रियाप्रति हाम्रो असहमति छ,’तामाङले भने,‘अलग दल बनाउन पाइन्छ, तर एमालेको विभाजनको लागि जुन हर्कत गरियो, त्यो विधिप्रति हाम्रो असहमति छ।’
उनले माधव नेपाल पार्टी निर्माण गर्ने प्रक्रियामा रहेको बताए। ‘अर्को निर्वाचनपछि कस्तो बन्ला? वा बन्छ कि बन्दैन, त्यो हेर्न बाँकी छ,’तामाङले भने,‘हाललाई उहाँहरूलाई हाम्रो महाधिवेशनमा निम्तो गर्दैनौँ।’
जनपरिचालन समिति बनाएर जनता जुटाउने काम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने निम्तो गरिएको तामाङले जानकारी दिए। प्रचण्ड आउने वा नआउने भनेर सन्देश पर्खिरहेको पनि तामाङले सुनाए। उनले प्रचण्ड महाधिवेशनमा आउने विश्वास रहेको बताए।
महाधिवेशनमा साढे ७ करोड खर्च हुने अनुमान
एमाले पार्टी कार्यालयका सचिव तामाङले महाधिवेशनमा साढे ७ करोड खर्च हुने अनुमान गरिएको बताए। महाधिवेशनका लागि पार्टीको कोषमा पाँच दिनको अवधिमा २५ लाख रुपैयाँ जम्मा भइसकेको जानकारी दिए।
‘आम नेता तथा कार्यकर्ताले उत्साहपूर्वक पार्टी कोषमा पैसा जम्मा गरिरहेका छन्,’उनले भने,‘यो चार/पाँच दिनको अवधिमा करिब २५ लाख जम्मा भैसकेको छ।’
उनले महाधिवेशन प्रतिनिधिहरूको अहिले रजिस्टर र ईन्ट्री प्रोसेस सुरु भएको पनि जानकारी दिए। उनले भने,‘हामीले सबै प्रक्रिया हाई–टेक गरेका छौँ। अनलाइन गरेका छौँ।’
जनपरिचालन समिति बनाएर जनता जुटाउने काम गरिएको उनले बताए।
एमालेको महाधिवेशन चितवनको नारायणी नदी किनारमा यही मङ्सिर १० गते उद्घाटन गर्ने तयारी छ। महाधिवेशनका लागि शुक्रबार एमाले नेता सुवासचन्द्र नेम्वाङ र एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका थिए।
मंसिर ४, २०७८ शनिबार १५:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।