सुर्खेतका केशबहादुरको घोडासवारी: ९० हजारमा व्यवसाय सुरु, मासिक ५० हजार कमाइ

सुर्खेतका केशबहादुरको घोडासवारी: ९० हजारमा व्यवसाय सुरु, मासिक ५० हजार कमाइ

सुर्खेतः वीरेन्द्रनगर-१० का ४४ वर्षीय केशबहादुर वादी मजदूरीका लागि १२ वर्षसम्म भारतको गडवाल (कालापहाड) गए। उनको दैनिक काम हुन्थ्यो- ढुंगा फुटाउने, घन, बेल्चा चलाउने।

१२ घण्टासम्म कठोर परिश्रम गर्थे उनी। तर दिनको कमाइ जम्मा चार सय भारु। त्यसमा पनि बर्खाको समयमा काम हुँदैनथ्यो। कयौं पटक त केशबहादुर ऋण मागेर गाडीभाडा उठाएर घर फर्केका थिए।

लगातार पानी पर्यो  भने, ठेकेदार भागे भने अथवा गाउँबाट लिएर गएका मेट (गाउँबाट मानिस लिएर जाने एजेन्ट) घाटामा परे भने त्यो साल कमाइ हुँदैनथ्यो।

गाउँमा मेटसँग मागेको अग्रिम पैसा समेत तिर्न नसक्दा तीन रुपैयाँ ब्याज तिरेको उनी अझै सम्झन्छन्। तीन छोरा, दुई छोरीसहित सात जनाको जहानलाई पाल्नै पनि हम्मेहम्मे हुन्थ्यो उनलाई।

दुःख धेरै हुने तर कमाइ नहुने भएपछि केशबहादुरले स्वदेशमै केही गर्ने योजना बनाए। ठूलो व्यवसाय गर्न न पैसा नै थियो न अनुभव नै।

सुर्खेतमा अलिअलि पर्यटन फस्टाउँदै थियो। उनले सोचे पर्यटनसँग सम्बन्धित व्यवसाय गर्ने। त्यसमा पनि घोडासवारी गराउने र पैसा कमाउने योजना बुने।

बैंकमा बचत गरेको ६० हजार रुपैयाँ थियो, निकाले। ३० हजार रुपैयाँ ऋण लगानी समूहबाट दुई रुपैयाँ ब्याजमा ल्याए।

र ९० हजार रुपैयाँको घोडा किने। एक महिनासम्म लगातार उनी वीरेन्द्रनगरका काँक्रेबिहार, बुलबुले ताल र सामाजिक सञ्जालमा भाइरल भएका भाइरल रोड, भाइरल डाँडा, पाताल दरबार जताततै गए। मान्छेको भीड जहाँ हुन्छ, त्यहीँ गए।

आन्तरिक पर्यटकलाई घोडामा सवार गराएर पैसा लिन थाले। एक पटक घोडामा चढेर फोटो खिचेको एक सय रुपैयाँ, मन्दिर, ताल र रोड वरिपरि घुमेको तीन सय रुपैयाँ गरेर शुल्क निर्धारण गरे।

अहिले सामान्य दिनमा पनि दैनिक करिब ४० जना उनको घोडामा चढेर फोटो खिचाउँछन्। अझ शनिबार त घोडा चढ्नेहरूको भीड दोब्बर नै हुन्छ।

उनको घोडा खुबै चर्चित भयो। पहिलाे महिनामै केशबहादुरले ७० हजार कमाए। ३० हजार रुपैयाँको ऋण तिरे र बाँकी ४० हजार रुपैयाँले अर्को घोडा किने।

अहिले उनीसँग दुई वटा घोडा छन्। एउटा घोडा काँक्रेबिहार र अर्को घोडा भाइरल रोड र पाताल दरबारतिर हुन्छ। अब त केशबहादुरलाई व्यवसायमा छोराले पनि सघाउन थालेका छन्।

घोडाबाट उनले घरपरिवार पालेका छन्। छोरानातीलाई पढाएका छन्।

घोडा व्यवसायमा दाना र घाँसबाहेक अरू केही खर्च नआउने भएकोले कमाएको रकम चोखो बच्ने केशबहादुरले बताए।

बाहिर गएर हड्डी खियाउँदा पनि बालबच्चालाई पाल्नै समस्या परेका बेला घोडा व्यवसायले आफूलाई मालामाल बनाएको उनी बताउँछन्।
'१२ वर्षसम्म कालापहाड गएँ। त्यहाँबाट केही प्रगति हुन सकेन।  अनि सुर्खेतमै घोडा सवारी चलाउँछु भनेर अगाडि बढें', उनले भने, 'केही कमाइ भएन भने पनि दुई वटा घोडाबाट ५० हजार रुपैयाँ त बच्छ। हामीलाई न तेल महँगो भए पिर छ न त डिजेल नै। घरमै घाँस र दाना खुवाउने अनि हिँड्ने।'


सुर्खेतको वीरेन्द्रनगर—९ स्थित काँक्रेबिहार मन्दिरमा घोडासवारी गर्दै बालक। तस्बिरः जगतदल/उकेरा

मंसिर ४, २०७८ शनिबार १३:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।