गृहमन्त्री खाँणकै निर्देशनमा उम्मेदवारमाथि कुटपिट: प्रदेश सभापति श्रेष्ठ
बुटवलः गृहमन्त्री बालकृष्ण खाँण पक्षका उम्मेदवारले क्षेत्रीय अधिवेशनमा हार्ने निश्चित भएपछि रुपन्देहीमा कुटपिट भएको छ। रुपन्देही क्षेत्र नं ३ (क)मा खाँण पक्षका उम्मेदवारले हार्ने निश्चित भएपछि केही समूहले क्षेत्रीय समितिका सचिव पदका उम्मेदवार शैलेश कुमार पन्तमाथि कुटपिट गरेका थिए।
नेपाली कांग्रेसका प्रदेश सभापति पुरन प्रसाद श्रेष्ठले मतदानपश्चात् मतगणना चलिरहेको अवस्थामा आफ्नो सर्मथकले निर्वाचन हार्ने देखिएपछि गृहमन्त्रीको आडमा गृहमन्त्रीका भाइ नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणको निर्देशनमा तरुण दलका जिल्ला अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा सुनियोजित आक्रमण गरिएकोे बताए।
कुटपिटबाट घाइते शैलेश कुमार पन्त
राति साढे २ बजेको समयमा सुनियोजित रूपमा आक्रमण गरी निर्घात कुटपिट भएको भन्दै उनले आपराधिक कार्यमा संलग्न सबै अपराधीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन गृह प्रशासनसमक्ष माग गरेका छन्।
घाइतेहरूमध्ये गम्भीर घाइते भएका शैलेश पन्तको हाल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अन्य घाइतेहरूको भैरहवामा उपचार भइरहेको उनले बताए।
‘जेनेरेटर बन्द गरेर एक्कासी भित्र प्रवेश गरी आक्रमण भयो। पार्टी कब्जा गर्ने कुन्ठित मानसिकताले यो घटना प्रायोजित रूपमा गराइएको हो’, श्रेष्ठले भने।
साेमबार ६ गते हुने नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन र १० गते हुने जिल्ला अधिवेशनमा आफ्नो पक्षमा नरहेका पार्टीका नेता कार्यकर्ताहरूलाई रोक्न एवं आफ्नो पकड जमाइ आफ्नो पक्षमा नरहेका कार्यकर्ताहरूलाई हतोत्साहित बनाउने गरी घटना गराइएको भन्दै उनले पुनः मतगणनाको माग गरे।
त्यस्तै उनले शक्ति र सत्ताको चरम दुरुपयोग भएकाे भन्दै प्रहरीले बेवास्ता गरेको आराेप पनि लगाए। 'मतगणनास्थलमा सुरक्षाको जिम्मा लिनुपर्ने प्रहरी प्रशासनले समेत घाइते शैलेस कुमार पन्तलाई कुटपिट गर्दा मुकदर्शक भई सुरक्षा प्रदान गरेन', उनले भने।
आज पूर्वसभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापती मातृका प्रसाद यादव र प्रदेश सभापति पुरन प्रसाद श्रेष्ठले अस्पतालमै पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरे।
यता नेपाली कांग्रेसका सचिव रामकृष्ण खाँणले भने घटना हुनु दुःखद भए पनि सुनुयोजित रुपमा घटना नभएको बताए।
‘गृहमन्त्री खाँण र मलाई नाम जोडेर जुन प्रचार गरिएको छ, यो दुखद हो। घटना सुनियोजित हाेइन', उनले भने। उनले पार्टी कार्यालयमा बैठक बसेर घटनामा संलग्न माथि अनुशासनको कारबाही गर्ने समेत बताए।
मंसिर ४, २०७८ शनिबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।