च्यापिए एमाले बनेका पूर्वमाओवादी, सहमति तोडिदा पनि सक्दैनन् बोल्न

च्यापिए एमाले बनेका पूर्वमाओवादी, सहमति तोडिदा पनि सक्दैनन् बोल्न

काठमाडौं: सशस्त्र द्वन्द्वताका तत्कालीन माओवादीमा रामबहादुर थापा 'बादल' शक्तिशाली नेताकै सूचीमा थिए। पार्टीमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीचको विवादमा निर्णायक हुँदा पनि उनले प्रचण्डलाई साथ दिइरहे। पार्टी खुला राजनीतिमा आएपछि पनि पार्टीमा उनको कद उँचो नै थियो। पार्टीको भविष्य सम्झदै उनी 'क्वाँक्वाँ' रुन समेत पछि परेका थिएनन्।

एमाले र माओवादी केन्द्र मिसिएर 'नेकपा' भएपछि अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच विमती बढ्दा उनी निर्णायकै थिए। विवाद बढ्दै गए पनि उनी प्रचण्डकै पक्षमा लाग्नेमा तत्कालीन माओवादी नेताहरू ढुक्कै थिए। तर उनी बदलिँदै गए।

सर्वोच्चले दुवै पार्टीको एकता भंग गरेर पूर्ववत् दुवै पार्टी ब्युँत्याएपछि पनि उनलाई माओवादी केन्द्रले तान्न सकेन। उनी एमालेमै बसे।

अहिले उनै बादल एमालेको १०औं महाधिवेशन मूल व्यवस्थापन समितिको सञ्योजक छन्। एमालेमा विभाजन आउँदा सांसद पद त्यागेर ओलीलाई साथ दिएका बादलसँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पनि केन्द्रीय कमिटीमा छन्।

उनीहरू सहित २३ जना पूर्वमाओवादी नेताहरू अहिले एमालेमा छन्। नव एमालेका रूपमा परिचित उनीहरूको हैसियत १०औं महाधिवेशनपछि के हुने टुंगो छैन। केन्द्रीय सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यसका आधारमा एमालेमा लागेका २३ जना पूर्वमाओवादी नेताहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्।

तीबाहेक दर्जन बढी पूर्वमाओवादी नेता कार्यकर्ता महाधिवेशन प्रतिनिधि चयन भएर आएका त छन्। तर उनीहरूको संख्या हस्तक्षेपकारी छैन।

उनीहरू सहित माधव नेपालको लिगेसी छाडेर एमालेमा फर्किएका नेताहरूले आगामी महाधिवेशनलाई एकता र सहमतिको महाधिवेशन बनाउनुपर्ने बताउँदै आएका छन्। यसका लागि एमालेमा रहेका जैविक एमालेसँगै आगन्तुक र नव आगन्तुक एमालेका नेताहरूलाई समेत केन्द्रमा सम्मानजनक रूपमा समेट्नुपर्ने दवाब बढिरहेको छ।

तर ओलीलाई आफ्नै समूह समेत व्यवस्थापनको समस्या रहेकाले यी दुवै गुटका नेताको हैसियत के हुने पक्का छैन।

पूर्वमाओवादी समूहबाट बादललाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्नेसँगै उपाध्यक्ष र सचिवमा पनि पूर्वमाओवादी समूहबाट  नेतालाई समेट्नु पर्ने उनीहरूको दावी छ। सके अरू थप गर्ने नसके न्यूनतम २३ जना केन्द्रीय सदस्यमा सो समूहका नेताले पाउनुपर्ने उनीहरूको माग छ।

पूर्वमाओवादी समूहबाट वरिष्ठ उपाध्यक्षमा रामबहादुर थापा, उपाध्यक्षमा टोपबहादुर रायमाझी, सचिवमा मणि थापा र लेखराज भट्ट र स्थायी समिति सदस्यमा प्रभु साहको दावी छ। तर के हुने हो पक्का छैन।

योसँगै प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादी समूहबाट पर्नुपर्ने, जनवर्गीय संगठन र दलित नेता भएको स्थानबाट एक-एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादीबाट ल्याउने भनिएको थियो।

तर यसको पालना भने भएन। बादल आफैँ इञ्चार्ज रहेको बागमतीबाटै काठमाडौं र काभ्रेबाट एक जना पनि पूर्वमाओवादीका नेता महाधिवेशन प्रतिनिधिमा परेनन्। दाङबाट मात्रै पूर्वमाओवादीबाट २३ जना आउनुपर्नेमा १ जना मात्रै प्रतिनिधि छानिए। सिन्धुलीबाट तीन जना र सुर्खेतबाट चार तथा बादलको गृहजिल्ला चितवनबाट २ जना मात्रै महाधिवेशन प्रतिनिधि छानिएका छन्।

तराईबाट ३०–४० जना आउने अनुमान गरिएकोमा अन्तरविरोध र ओली समूहले एकलौटी गरेका कारण अति कम प्रतिनिधि छानिएका छन्। महाधिवेशन प्रतिनिधिमा कम संख्या आएपछि पार्टी अध्यक्ष ओलीसँग सो समूह असन्तुष्ट छ। तर सार्वजनिक रूपमा आलोचना भने गर्न सकेको छैन।

‘बलमिच्याईँ तरिकाले काम भइरहेको छ। पार्टीमा नेताको मुख हेरेर बस्ने कि नबस्ने भएको छ। यस्तै हो भने त विकल्प खोज्नुपर्छ,’ बादल समूहका तल्लो तहका एक नेताले उकेरासँग भने।

माओवादीबाट आएकाहरूलाई पनि सम्मानजनक रूपमा समेट्न अध्यक्ष ओलीले भिडियो सन्देश समेत जारी गरेका थिए। तर तल्लोतहमा त्यसको प्रभाव देखिएन। तल्लो तहमा एकलौटी नै भयो। जित्ने सम्भावना भएका र जित्नेलाई पनि प्रतिनिधि आउन नदिएको बादल समूहका जिल्ला तहका नेताहरूको गुनासो छ। एमालेहरूले पार्टीभित्र भाग नखोज्न चेतावनी दिने गरेको एक नेताले बताए।

पछिल्लो समय त नेपाल समूह छाडेर आएका नेता समूहहरूको समेत पेलान उनीहरूले नै व्यहोर्नु परेको देखिन्छ।

'पूर्वएमालेकै साथीहरूको अन्तरविरोधले पूर्वमाओवादीबाट आएका नेताहरू प्राथमिकतामा थिएनन् यो सत्य हो,' सो समूहका नेता मणि थापाले भने, 'आउनुपर्ने साथीहरू आउन सक्नु भएन। अब यसमा थप टिप्पणी नगरौं।’

एमाले सचिव योगेश भट्टराई पार्टी 'वार्गेनिङ' गर्ने थलो नभएको बताउँछन्। उनले पार्टी कुनै ट्रेड यूनियन नभएको भन्दै भने 'ट्रेड यूनियनमा कलेक्टीभ बार्गेनिङ हुन्छ, पार्टीमा कलेक्टीभ हुँदैन। वस्तुगत अवस्थाबाट, आवश्यकताबाट नेतृत्त्वको चयन हुन्छ। आवश्यकताबाट जिम्मेवारी बाँडफाँट हुन्छ।’

उनले आफूले पनि बार्गेनिङ नगरेको र अन्यलाई पनि बार्गेनिङ नगर्न सुझाव दिए।

ओली आफैं चेपुवामा
नेता व्यवस्थापनमा चेपुवामा परेका पार्टी अध्यक्ष ओलीलाई असहज पार्ने रणनीतिमा छैनन् बादल समूह। आन्तरिक रूपमा तयारी गरिरहे पनि औपचारिक रूपमा बोलेका छैनन्। उनीहरू पार्टी अध्यक्ष ओलीसँग संवादमै छन्। उनीहरूले सार्वजनिक मञ्चमा अध्यक्षमा ओली सर्वसम्मत हुने बताउँदै माहोल बनाउने प्रयास गरिरहेका छन्।

महाधिवेशनपछि आगामी उपचुनाव र आम चुनावको सामना गर्नुपर्ने चुनौती छ। त्यसले पनि उनीहरूलाई एमालेमा विद्रोह गर्न रोकेको छ।

‘आगामी चुनावमा हेरे हुन्छ एमाले एक नम्बर पार्टी बन्छ,’ सो समूहका नेता टोपबहादुर रायमाझीले भने। अर्का नेता मणी थापा यो पदमा उठ्ने भनेर छलफल नभएको बताउँछन्। उनले दावीकै रूपमा दावी समेत नगरेको बताए।

'यसबारेमा अध्यक्षसँग छलफल भएको छैन। महाधिवेशनमा सबैलाई एकतावद्ध बनाएर नेकपाको निरन्तरता र कम्युनिष्ट आन्दोलनलाई ध्रुविकरण गर्दै लानुपर्छ भन्ने हाम्रो सोच हो,’ थापाले उकेरासँग भने।

मंसिर ४, २०७८ शनिबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।