रुपन्देहीकाे मतगणनास्थलमा आक्रमण, ५ घाइते

रुपन्देहीकाे मतगणनास्थलमा आक्रमण, ५ घाइते

रुपन्देहीः नेपाली कांग्रेसकाे १४औं महाधिवेशनअन्तर्गत रुपन्देहीकाे प्रदेश सभा क्षेत्रमा भएकाे निर्वाचनका क्रममा मतगणनास्थलमा आक्रमण हुँदा कम्तीमा ५ जना घाइते भएका छन्। क्षेत्र नम्बर ३(ख) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा मध्यरातमा मुख छोपेर आएका केही युवाहरूले आक्रमण गर्दा एक जना उम्मेदवारसहित ५ जना घाइते भएका छन्।

पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पूरण श्रेष्ठले मतगणनामा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरु मतगणना स्थल प्रवेश गरेर आक्रमण सुरु गरेको बताइएको छ। आक्रमणबाट समान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको र गम्भीर घाइते भएका क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्तलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएको छ।

आक्रमण भएपछि मतगणना स्थगित भएको छ । मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाँण समर्थकहरुले आक्रमण गरेको मतगणनास्थलमा रहेका एक कांग्रेस कार्यकर्ताले आरोप लगाएका छन्।

तरुण दल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको कांग्रेस एक नेताले बताए।

मंसिर ४, २०७८ शनिबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।