प्रकाशमान मनाउन चाक्सीबारी धाउँदै कांग्रेस सभापतिका आकांक्षी
काठमाडौं: नेपाली कांग्रेसकाे १४औं महाधिवेशनमा सभापतिको आकांक्षीको रूपमा एक्लै अगाडि बढेका प्रकाशमान सिंह अन्य आकांक्षीको भने केन्द्रीय पात्र बनेका छन्। सभापतिका अन्य आकांक्षीबीच सहमतिको वातावरण धमिलिदै गएपछि आकांक्षीहरु एकपछि अर्को गर्दै सिंह मनाउन चाक्सीबारी धाउन थालेका छन्।
पछिल्लो समय सिंह संस्थापन इतर समूहबाट टाढिदै एक्लै सभापतिको अभियानमा लागेका छन्। जिल्ला भ्रमणसँगै उनले केही सम्पादकहरुसँग आफ्नो उम्मेदवारी किन भन्ने धारणा राखिसकेका छन्। उनी रामचन्द्र पौडेल समूहको बैठकमा पनि जान छाडेपछि अहिले पौडेलदेखि शेखर कोइरालासम्म आफैं चाक्सीबारी धाउन थालेका छन्।
बिहीबार सिंह निवास चाक्सीबारीमा वरिष्ठ नेता पौडेल पुगेका थिए। शुक्रबार शेखर कोइराला पुगे। भेटको लक्ष्य सभापतिमा समर्थन जुटाउने नै देखिन्छ।
तर सिंहनिकटका अनुसार उनले दावेदारी छाडेका छैनन्। आफूलाई समर्थन गर्न आग्रह गर्ने गरेका छन्। उनले आफ्ना बुवा गणेशमान सिंहको उदाहरण दिँदै 'त्याग सिंह परिवारले मात्र गर्नुपर्ने?' भन्ने प्रश्न गर्ने गरेका छन्।
सभापतिका अर्का आकांक्षी शशांक कोइरालाले उनलाई काठमाडौंबाहिर पहिचान नभएको नेता भनेपछि उनी सभापतिको दावेदारी बलियो बनाउन थप सक्रिय भएका छन्। कोइरालाको सोही प्रतिक्रियापछि उनले बिहीबार केही सम्पादकहरुलाई डाकेर आफ्ना धारणा राखेका थिए। यसले उनले कोइरालाको टिप्पणीलाई प्रतिष्ठाको विषय बनाए झैँ देखिन्छ।
काठमाडौंमा उनी बढी केन्द्रीत भएकै हुन्। तर पार्टीको महामन्त्री समेत भइसकेको र कांग्रेसजनमा गणेशमानको शाखका कारण उनको राष्ट्रव्यापी पहिचान छ नै। उनको आफ्नै शैलीको संगठन देखिन्छ।
काठमाडौंमा गगन थापासँगको सहकार्यमा भएको अधिवेशनको नतिजाले समेत उनलाई उत्साहित बनाएको देखिन्छ।
कतिपयले उनले सभापतिको उम्मेदवारको दावी गरेर प्रधानमन्त्रीमा पक्का गर्न खोजेको तर्क समेत गर्ने गरेका छन्। स्रोतको दावीअनुसार शुक्रबार शेखरले उनलाई पावर सेयरिङको प्रस्ताव गर्दै भावी प्रधानमन्त्रीको प्रस्ताव गरेकै थिए।
शेखरले आफू सभापति, रामचन्द्र पौडेल राष्ट्रपति अनी तेस्रो विकल्पमा अन्य आकांक्षीलाई प्रधानमन्त्रीको अफर गर्ने गरेका छन्।
शुक्रबारको भेटमा उनले सिंहलाई प्रधानमन्त्रीकै अफर गरेका थिए। तर सिंहले आफू सभापतिको दावेदारीबाट पछाडि नहट्ने बरु कोइराला परिवारबाट कोही प्रधानमन्त्री बन्न राजी भए आफू पावर सेयरिङका लागि तयार रहेको जवाफ दिएका थिए।
सिहं-शेखर भेट संस्थापन इतरका सभापतिका आकांक्षीबीच सहमतिको प्रारम्भको रूपमा समेत हेरिएको छ।
गत मंगलबार शेखर-शशांकबीचको छलफलमा शशांकले अन्य आकांक्षी सहमत भए आफू बाधक नहुने बताएको दावी आइरहेका छन्। तर शेखरले अन्य आकांक्षीसँग छलफलै नगरी पत्रकार सम्मेलन गराएर शशांकको समर्थनको घोषणा गराउने प्रयास गरेपछि शशांक हेलिकप्टरमा काठमाडौंबाहिर गएका थिए।
सहमति नभए पनि सिंह-शेखरको भेटलाई शशांकसँगको सहमतिअनुसार समर्थन जुटाउने प्रयासको रूपमा समेत हेरिएको छ। यसले कोइराला परिवारका आकांक्षीबीच एकल उम्मेदवार चयनमा सहज वातावरण बनाउन पनि सक्छ।
कांग्रेसमा संस्थापन समूहबाट पार्टी सभापति शेरबहादुर देउवासँगै विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। यता संस्थापन इतरपक्षबाट त पौेडेल,शेखर, शशांक र सिंहसँगै डा रामशरण महत, अर्जुननरसिंह केसीले समेत सर्वसम्मत नभए आफूले पनि उम्मेदवारी दिने बताइरहेका छन्।
मंसिर ४, २०७८ शनिबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।