देशभरका वडामा शनिबार माओवादीको सम्मेलन 

देशभरका वडामा शनिबार माओवादीको सम्मेलन 

काठमाडौँ : नेकपा माओवादी केन्द्रले शनिबार हुने वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

माओवादीले गठन गरेको केन्द्रीय निर्वाचन आयोगले शनिबार देशभरका ६ हजार ७४३ वटा वडामा हुने सम्मेलनकाे तयारी पूरा भएको जनाएको छ। 

माओवादीले वडा समिति चयन गर्दा सकेसम्म सर्वसहमतिमा गर्न भनेको छ। निर्वाचन हुने अवस्था आएमा मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रूपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पङ्क्तिलाई आग्रह गरेको छ। 

माओवादीले विज्ञप्ति जारी गरेर पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान्, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने नयाँ एवं रूपान्तरित पार्टी निर्माणमा लाग्न अपिल गरेको छ।  

माओवादीले मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन गर्ने मिति तोकेको छ। पुस ११, १२ र १३ गते काठमाडौँमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदै छ।

मंसिर ३, २०७८ शुक्रबार २१:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।