ढलौटको करुवा चोर्ने चार जना भारतीय नागरिक पक्राउ
चोरी गरी लगेको ढलौटको करुवा समेत बरामद गरी चोरी गर्ने र चोरीको सामान किन्ने राजु गिरी सहित चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
परिसरका अनुसार राजु गिरी र बैंकटस गिरी समेत २ जनाले कच्चा पदार्थ र ढलौटको करुवा चोरी गरी काठमाडौँ सिनामंगल स्थित मुन्ना साहले सञ्चालन गरेको कवाडी पसलमा बेचबिखन गरेको पाइएको छ।
नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रूपमा काम गरिरहेको अनुसन्धानको क्रममा खुल्न आएको परिसरले जनाएको छ।
प्रहरीले भारत हैदरावाद घर भई हाल काठमाडौँ सिनामंगल बस्ने वर्ष १८ का राजु गिरी, वर्ष १८ को बैंकटेस गिरी, भारत मोतिहारी घर भई हाल काठमाडौँ बानेश्वर बस्ने वर्ष ३० का मुन्ना साह र वर्ष ३५ का नारद साहलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनीहरूबाट ढलौटको करुवाको बैठक २९ के.जी. ५०० ग्राम, ढलौटको करुवाको मुख ७४ के.जी., पानसको डन्डी ४७ के.जी. र कच्चा पदार्थ ४८ के.जी. बरामद गरेको जनाएको छ।
मंसिर ३, २०७८ शुक्रबार २०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।