गोला प्रथाबाट पेसी तोक्ने नियमावली र निर्देशिका कानुन मन्त्रालय पुग्यो

गोला प्रथाबाट पेसी तोक्ने नियमावली र निर्देशिका कानुन मन्त्रालय पुग्यो

सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले स्वीकृत गरेको नियमावली र निर्देशिका मन्त्रालयले प्राप्त गरेकाे जनाएकाे छ। 

कानुन मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतमले संशोधित नियमावली र निर्देशिका अध्ययन गरेर राजपत्रमा प्रकाशनका लागि पठाइने जानकारी दिए। ‘हामी अध्ययनकै क्रममा छौँ,’प्रवक्ता गौतमले उकेरासँग भने,‘अध्ययन गरेर राजपत्रमा सूचना प्रकाशन गर्न पठाउँछौ।’ 

कानु मन्त्रालयले गोला प्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने संशोधित व्यवस्था राजपत्रमा प्रकाशित गर्नेछ। संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पूर्ण बैठक बसेर गोला प्रथा लागु हुने मिति सम्बन्धमा निर्णय गर्नेछ। 

गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने व्यवस्था लागू भएपछि प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्न नपाउने भएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा रहेका न्यायाधीशहरूको बिहीबार बसेको पूर्ण बैठकले नियमावली र निर्देशिका संशोधन गरेर गोला प्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको थियो। 

शुक्रबार प्रधानन्यायाधीश राणाले तोकेका १० वटा इजलास मध्ये न्यायाधीश नहकुल सुवेदीको इजलास मात्रै बसेन। अरू इजलासमा न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छन्। 

कार्तिक ८ गते प्रधानन्यायाधीश राणाले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक बहिष्कार गरेका न्यायाधीशहरुले शुक्रबार बन्दी प्रत्यक्षीकरण, पुनरावेदन फिर्ता, फैसला संशोधन, निवेदन फिर्ताजस्ता मुद्दामा सुनुवाइ गरेका छन्। 

गोला प्रथा लागू भए पछि सबै खालको मुद्दा हेर्ने न्यायाधीशहरूको तयारी छ। 

 

मंसिर ३, २०७८ शुक्रबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।