सिलु तीर्थमा आधारित फिल्म ‘तुयू’को  मुहूर्त

सिलु तीर्थमा आधारित फिल्म ‘तुयू’को  मुहूर्त

सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ। तर महिलाहरू तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता पनि छ। 'सिलु म्ये' प्रतिरोधको गीतिकथा हो।

मल्लकालमा लेखिएको 'सिलु म्ये' मा आधारित कथामा फिल्म बनाउन लागेको निर्माण पक्षले जनाएको छ। नेपाल भाषामा गोसाइकुण्डलाई सिलु भनिन्छ। म्ये भनेको गीत। नेवार समुदायमा प्रचलित ‘सिलु म्ये’ मै आधारित रहेर फिल्म ‘तुयू’ निर्माणको तयारी गरिएको छ।

फिल्मको मुहूर्तमा चःमतिदेखि चित्लाङसम्म ‘तुयू’ फिल्मसँग सम्बन्धित कलाकर्मिहरू पुगेका थिए। निर्माण पक्षबाट शुभ मुहुर्तपश्चात ऐतिहासिक नगर चित्लाङको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नगर भ्रमण गराउका थिए।

'सिलु म्ये' पुरुष पात्र र महिला पात्रबिचको संवाद हो। नेवार समुदायमा अहिलेसम्म प्रचलित यो बांख म्ये (गीतिकथा) ले तत्कालीन समाजको परिवेशको चित्रण गर्ने प्रयास गरिएको छ। यही परिवेशलाई पूर्णकाजी ज्यापूले फिल्म मार्फत प्रस्तुत गर्न लागेका हुन्।

फिल्ममा गीत, कथा र संवाद पूर्णकाजी ज्यापूको रहेको छ। सोहन मानन्धरको छायाङ्कन रहने फिल्मको पटकथा र सम्पादन पनि सोहनको रहेको छ। जुलग डंगोलको सङ्गीत रहेको फिल्मको निर्देशन पूर्णकाजी ज्यापू र अनुज डङ्गोलले गर्दैछन्।

छिट्टै फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले बताएको छ। फिल्ममा रेसमी महर्जन, योगेन महर्जन र राजेन्द्र महर्जनको मुख्य अभिनय रहनेछ।

मंसिर ३, २०७८ शुक्रबार १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।