चितवनमा लुम्बिनी प्रदेशबाट ७५ हजार कार्यकर्ता उतार्ने एमालेको दाबी 

चितवनमा लुम्बिनी प्रदेशबाट ७५ हजार कार्यकर्ता उतार्ने एमालेको दाबी 

बुटवल : नेकपा एमालेले मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता उतार्ने दाबी गरेको छ। 

एमाले प्रचार समिति लुम्बिनी प्रदेशले बुटवलमा पत्रकार सम्मेलन गर्दै १२ जिल्लाबाट ७५ हजार कार्यकर्ता चितवनमा उतार्ने दाबी गरेको हो।

एमाले लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्य लीला गिरीले रुपन्देहीबाट २२ हजारसहित १२ जिल्लाबाट ७५ हजार कार्यकर्ता चितवनमा उतार्ने बताए।

त्यस बाहेक जिल्ला जिल्लामा महाधिवेशनको प्रचार प्रसारलाई पनि तीव्रता दिएकाले उनले बताए। एक पालिका एक स्वागत गेट निर्माण गरेर महाधिवेशनको प्रचार प्रसार गरिएको उनको भनाई छ।

महाधिवेशनमा पर्चा पमप्लेट  र भित्ते लेखनले प्रचार प्रसार नगरिने भन्दै सम्भव भएका स्थानमा डिजिटल डिस्प्ले मार्फत प्रचार प्रसार गरिने उनले बताए। 

एमाले प्रचार विभागका सदस्य डी.आर घिमिरेले बुटवलमै महाधिवेशन भएको झल्को दिने गरी बुटवलमा प्रचार प्रसार व्यापक गरिने बताए।

बुटवलको चौराहादेखि वि.पी चोकसम्म मुख्य राजमार्ग क्षेत्रमा डिजिटल डिस्प्ले मार्फत महाधिवेशनको प्रचार प्रसार गर्ने र बुटवलका प्रत्येक वडामा महाधिवेशन प्रचारका लागि गेट तयार गरिने उनले बताए। महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २ सय ८ जना प्रतिनिधि छनोट भइसकेका छन्। 

एमाले रुपन्देही प्रचार विभागका संयोजक मोहन चापागाईँले महाधिवेशन लक्षित गरी लुम्बिनी सन्देश नामक बुलेटिन समेत प्रकाशन गर्न लागिएको जानकारी दिए।

महाधिवेशन प्रतिनिधिको विवरण सहित जवज, कम्युनिस्ट आन्दोलन, हालसम्म भएका ९ वटा महाधिवेशनको समीक्षा र १० औँ महाधिवेशनले दिन खोजेको सन्देश बुलेटिनमा समेटिने उनले बताए।

मंसिर ३, २०७८ शुक्रबार १६:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।