सुर्खेतमा कांग्रेस अधिवेशन सम्पन्न: ८ पालिकामा खड्का र एक पालिकामा थानी पक्ष विजयी
सुर्खेतः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतका ९ वटै पालिकाको नतिजा आएको छ। नतिजा आएका ८ वटा पालिकामा पार्टी सभापति शेरबहादुर देउवा समर्थित महामन्त्री पूर्णबहादुर खड्काको प्यानल नै विजयी भएको छ।
यता रामचन्द्र पौडेल समर्थित हृदयराम थानीको प्यानलले एक पालिकामा मात्र नेतृत्व हात पारेको छ।
सुर्खेतका ९ वटा स्थानीय तहमध्ये सिम्ता, बराहताल र चिंगाड गाउँपालिका तथा वीरेन्द्रनगर, गुर्भाकोट, भेरीगंगा र लेकबेंसी नगरपालिकामा खड्का पक्षको प्यानल नै विजयी भएको हो। यस्तै चौकुने गाउापालिकामा मात्रै थानी प्यानलका सभापतिले मात्रै जित हात पारेका छन्।
मत परिणामअनुसार गुर्भाकोटमा हस्त पुन विजयी भएका छन्। यो पालिकामा थानी पक्षकाले उम्मेदवारी नै दिएनन्। उपसभापतिमा लालबहादुर पुन, मधु गुरुङ, सचिवमा वासुदेव शर्मा, प्रेमप्रकाश वली र सहसचिवमा रुपक पौडेल, पुष्पा नेपाली विजयी भएका छन्। उनीहरू पौडेल समूहका हुन्।
यस्तै, लेकबेंसी नगरपालिकाको सभापतिमा उमेश पौडेल विजयी भएका छन्। सर्वसम्मत भएको नेतृत्वमा सबै कार्यसमिति नै खड्का पक्षको हो।
चिंगाड गाउँपालिकाको सभापतिमा डोरप्रसाद शर्मा विजयी भएका छन्। उनले पौडेल समूहका करसिंह रानालाई हराउँदै सभापतिमा विजयी भएका हुन्। शर्माले ६४ मत ल्याउँदा थानी समूहका रानाले ३५ मत प्राप्त गरे।
भेरीगंगा नगरपालिकाको नगर सभापतिमा रामबहादुर सिंह विजयी भएका छन्। उनले १९४ मत ल्याएका छन्। थानी समूहका किरणकुमार भाट क्षेत्रीले २२ मत ल्याए। भेरीगंगाको कार्यसमितिमा भने देउवा समूहको प्यानल नै विजयी भएको हो।
उपसभापतिमा रेशमबहादुर पुन मगर, प्रतीक्षा विक, सचिवमा लालसिंह बुढाक्षत्री र हिरालाल खत्री, सहसचिवमा टीकाराम वली र धर्मराज खड्का विजयी भएका छन्। यता, बराहताल गाउँपालिकाको सभापतिमा भीमबहादुर भण्डारी विजयी भएका छन्। उनले पौडेल समूहका भुवनसिंह सिंजापतिलाई हराएका हुन्। भण्डारीले १०४ मत ल्याउँदा सिंजापतिले ५० मत मात्रै ल्याए।
यस्तै सिम्ता गाउँपालिकाको सभापतिमा थानी पक्षले उम्मेदवारी नदिँदा खड्का पक्षबाट दुई जना सभापतिमा लडेका थिए। सभापतिमा भने वीरेन्द्र रावत विजयी भएका छन्। उनले ११९ मत ल्याएका छन्। पराजित उम्मेदवार अशोक केसीले २४ मत मात्रै ल्याए।
वीरेन्द्रनगरमा भएको मतदानमा खड्का पक्षबाट उपेन्द्र खड्का विजयी भएका छन्। उनले १९९ मत ल्याएका छन्। पराजित उम्मेदवार नारायण कोइरालाले १४७ मत ल्याएका छन्। उनले थानि समूहका नारायण कोइरालालाई हराउँदै सभापतिमा विजयी भएका हुन्।
यस्तै उपसभापतिमा वसन्ती थापा, मान बहादुर चन्द, सचिवमा रमेश सापकोटा र मिलन श्रेष्ठ , सहसचिवमा धन बहादुर मल्ल र सुरेन्द्र ढकाल विजयी भएका छन्।
पञ्चपुरी नगरपालिकामा खड्का पक्षबाट कृपा राम थापा विजयी भएका छन्। यस्तै पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा थानी पक्षबाट नरबहादुर बान्तोलाले ९१ मत ल्याएर विजयी भए भने खड्का पक्षका हेमराज खनालले ८१ मत ल्याएर पारजित भए।
मंसिर ३, २०७८ शुक्रबार १०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।