एमसिसी चाँडो अनुमोदन गर्न प्रधानमन्त्री देउवालाई अमेरिकी सहायक विदेशमन्त्रीले गरे आग्रह
काठमाडौँ : अमेरिकाले ५५ अर्ब भन्दा बढीको मिलेनियम कर्पोरेसन च्यालेन्ज एमसिसी संसद्बाट चाँडो अनुमोदन गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले एमसिसी संसद्बाट अनुमोदन गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री देउवासँगको भेटमा नेपालको ऊर्जा र भौतिक पूर्वाधारका निम्ति अमेरिकाले अनुदानस्वरुप उपलब्ध गराउने ५५ अर्ब रुपैयाँभन्दा बढीको एमसिसी परियोजना लगायत अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगका बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लुले कोरोना महामारी, जलवायु परिवर्तन र आपसी हितका विषयमा नेपाललाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै नेपाल–अमेरिका मित्रता, सहयोग र बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको लेखेका छन्।
प्रधानमन्त्री देउवाले नेपालको लोकतान्त्रिक मान्यता र मानवअधिकार, विधिको शासनप्रतिको पूर्ण प्रतिबद्धता दोहोर्याएका छन्।
सहायक विदेशमन्त्री लुले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले आयोजना गर्न लागेको लोकतन्त्रका लागि आगामी शिखर सम्मेलनमा सहभागी हुने सुनिश्चितता गरेकोमा प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन्।
मंसिर २, २०७८ बिहीबार २१:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।