शेखरले गलत सन्देश फैलाएकी शशाङ्क भागे !

काठमाडौँ : ‘समय आए पछि कुरा हुन्छ, अहिले हतार छैन। जित्ने माहौल बनाउन लागि परेका छौँ,’ १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने या नदिनेबारे निकटहरूले जिज्ञासा राख्दा शेखर कोइराला प्राय यस्तै जवाफ दिन्थे।
१३ औँ महाधिवेशन सकिए लगत्तै अब सभापतिको उम्मेदवार हुन सङ्गठन बनाउँछु भन्दै हिँडेका कोइरालाले यी बिचमा प्राय सबै जिल्ला घुम्न भ्याए। पार्टीमा आफ्नो अलग्गै सम्पर्क सञ्जाल नभएसम्म नेतृत्वमा जान नसकिने बुझेका उनले जिल्ला-जिल्लामा नेटवर्क पनि बनाए।
कोइराला परिवारका सदस्य भएकाले उनलाई त्यही लिगेसी मात्र बोकेर एकल उम्मेदवार हुन भने सहज थिएन। महामन्त्री भइसकेका शशाङ्क कोइराला १४ औँ महाधिवेशनमा सभापतिका स्वतः उम्मेदवार हुने १३ औँ महाधिवेशनको नतिजापछि नै देखिएको थियो। बिपी कोइरालाको छोरा भएकाले कोइराला परिवारको लिगेसीमा पनि शेखर भन्दा शशाङ्क नै अगाडि हुने नै भए।
१४ औँ महाधिवेशन आउन २२ दिन मात्रै हुँदा पनि शेखरले सभापतिमा 'उम्मेदवार हुँ' भन्न सकेका छैनन्। उनले सभापतिको 'दाबेदार हुँ' मात्र भन्दै भनिरहेका छन् अझै।
कोइराला परिवारमै सुजाता कोइराला पनि 'म पनि सभापति हुन्छु' भन्दै हिँडेकी नै हुन्। अहिले भने उनी केही सुस्ताएकी छिन् ।
कोइराला परिवारका नेता र काँग्रेसमा कोइराला परिवारको शाखाको टेकोमा आफ्नो राजनीतिक अगाडि बढाउन चाहनेहरू सकेसम्म परिवारबाट एकल उम्मेदवार भए पार्टी नेतृत्वमा कोइराला परिवारको लिगेसी फर्कने र आफूहरूलाई समेत सहज हुने भन्दै मिलाउन प्रयत्नरत छन् नै। तर शेखर र शशाङ्कबिच कुरा मिल्न भने सकेको छैन।
प्रसङ्ग बुधवारकै।
शशाङ्क कोइरालाले शेखरलाई सभापतिमा समर्थन गर्न राजी भएर पत्रकार सम्मेलनको समय समेत तोकिएको सूचनाले बुधवार सञ्चारकर्मीमाझ निकै चर्चा भयो। बिहान सुरु भएको यो चर्चा दिउसा भइसक्दा भने सहमति भाँडिएको सार्वजनिक भयो।
आगामी महाधिवेशनको उम्मेदवारीबारे मङ्गलवार बेलुका बशुन्धारामा रहेको शेखरको निवासमा शशांकसँग भएको छलफलमा शशाङ्क यस पटक शेखरलाई सभापतिमा छाड्न राजी भएको दाबीहरू आएका थिए।
सोही सहमति अनुसार बुधवार बिहान साढे १० बजे शशाङ्क निवासमा पत्रकार सम्मेलनको तयारी भएको तर एकाएक शशाङ्क पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भन्दै निवासबाट निस्किएर बिना प्रयोजन सङ्खुवासभा पुगेको शेखर पक्षले दाबी गर्दै आएको छ। त्यो दाबी बिहीबारसम्म पनि कायम छ।
हेलिकोप्टरमा सङ्खुवासभा पुगेका शशाङ्कले पत्रकारहरूमाझ सभापतिको दाबेदारी कायमै रहेको र देउवालाई आफूले मात्रै हराउन सक्ने बताए। शशाङ्कले उता यस्तो दाबी गरिरहँदा यता काठमाडौँमा भने भएको सहमति तोडेर शशाङ्क भागेको समाचारहरू सार्वजनिक भइरहेका थिए।
यस विषयमा उकेराले दुवै नेता निकटहरूसँग बुझ्दा दुबैका आ-आफ्ना दाबीहरू आए। शेखर पक्षले शशाङ्क एक पटक सभापतिमा शेखरलाई समर्थन गर्न राजी भएको तर बिचमा उनलाई कसैले भड्काएको दाबी गर्छन्।
उता शशाङ्क पक्षका नेताहरू भने संस्थापन इतर पक्षबाट शेखरलाई सबै दाबेदारले समर्थन गरे आफू पनि तयार रहेको बताएको तर शेखरले अन्य आकाङ्क्षीसँग छलफलै नगरी कोइराला परिवारबाट एकल उम्मेदवार हुन शशाङ्कलाई साक्षी मात्र राख्ने प्रयास गरेको दाबी गर्छन्।
सभापतिका आकाङ्क्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंहसँगै अर्जुननरसिंह केसी र डा रामशरण महतसँग समेत छलफल गरेर एकल उम्मेदवार तोक्नुपर्ने त्यसमा सबैले शेखरको नाममा सहमति जनाए आफूलाई पनि आपत्ति नहुने शशाङ्कले बताएको उनी निकट स्रोतको दाबी छ।
'शशाङ्क दाजुले अन्य आकाङ्क्षीहरू शेखर दाइँको नाममा सहमत भए आफू बाधक नबन्ने बताउनुभएको रहेछ। तर उहाँले तीन जना मात्र राखेर पत्रकार सम्मेलन गर्न दबाब दिएपछि उहाँ आफ्नो समूहका नेतासँग छलफल गर्न काठमाडौँ बाहिर जानुभएको हो,' शशाङ्क निकट एक नेताले उकेरासँग भने।
शशाङ्क निकट नेता शिवि लामाले पनि उकेरासँग उनले सभापतिको उम्मेदवारी छाड्छु नै नभनेको र महाधिवेशन प्रभावित पार्न गलत सूचना फैलाएको दाबी गरे।
'उहाँले छाड्छु भनेको छैन। छाड्ने कुरै छैन,' लामाले उकेरासँग भने' महाधिवेशनमा उम्मेदवारी प्रभावित गर्न मिडियामा गलत सूचनाहरू फैलाउने काम मात्र भएको छ। यसले सहमतिको वातावरण बन्ने भन्दा झन् बिगार्ने काम गरेको छ।'
व्यक्तिगत दुस्मनीतर्फ संस्थागत प्रतिस्पर्धा
संस्थापन पक्षबाट देउवासँगै विमलेन्द्र निधी र गोपालमान श्रेष्ठले समेत सभापतिमा उम्मेदवारी दाबी गरिरहेका छन्। निधी धेरै अगाडि बढिसकेका छन्। तर देउवाले फकाउने प्रयास छाडेका छैनन्। आफू विरुद्ध सभापतिको उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय समेत खोलिसके पनि देउवाले निधिलाई आफू निकट नेताको भेलामा बालुवाटारमा बोलाएर सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।
तर यता संस्थापन इतर समूहभित्र भने संस्थागत रूपमा सुरु भएको प्रतिस्पर्धा व्यक्तिगत 'तँ भन्दा म के कम' को तहमा ओर्लिन थालेको छ। शेखर शशाङ्कले सहमति गरेर पनि धोका दिए भन्दै हिँडेका छन् भने शशाङ्कले बुधवारै प्रकाशनमान सिंहलाई काठमाडौँ बाहिर कसैले नचिन्ने अनि महामन्त्री हुँदा पनि सङ्गठनको काम नगरेको आरोप लगाएपछि अहिले सिंह समेत उनीसँग बिच्किएका छन्।
शशाङ्कको दाबीको प्रतिउत्तर दिँदै सिंहले भने ‘काठमाडौँबाहिर कसले चिनेको छ भन्नेलाई अब म देखाउँछु। प्रतिस्पर्धा गरौँ। फेसबुकमा फोटो राखेर देश घुमेको मानिन्छ?’
केही समय अगाडि काँग्रेसका संस्थापक नेताका सन्तानहरू एकै ठाउँमा उभिने भन्दै शशाङ्कसँगै सिंह र निधिले धेरै पटक लन्च र डिनर मिटिङ गरेका थिए। शशाङ्कको सो आरोपपछि सिंह र उनीबिचको सम्बन्ध चिसो हुने देखिन्छ।
पौडेलको आफ्नै दाउ
सभापतिका आकाङ्क्षीहरूबिच दुरी बढ्दा उता वरिष्ठ नेता पौडेलले भने आफू सर्वसम्मत उम्मेदवार बन्न माहौल बनाउन सक्रिय भएका छन्।
शशाङ्क र सिंहबिच आरोप-प्रत्यारोप चल्दा पौडेल बिहीबार एकाएक सिंह निवास चाक्सीबारी पुगेर सभापतिमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए। सिंहको दाबी अनुसार उनले आफैँलाई सघाउन र अभिभावक भएर पार्टीमा बस्न पौडेललाई आग्रह गरेका थिए।
कात्तिक २६ मा आफू पक्षीय केन्द्रीय सदस्यको बैठकमा पौडेलले साझा उम्मेदवार बन्ने सर्तमा आफू सभापतिका दाबी छोड्न सक्ने र साझा उम्मेदवार नभए आफूले पनि नछोड्ने बताएका थिए। उनले आफू सभापति भए एक वर्षमा छाड्नेसम्मको प्रस्ताव राखेका थिए। तर उनको पक्षमा माहौल अझै बन्न सकेको छैन।
सहमति भन्ने दाबी नछाड्ने
सार्वजनिक र आन्तरिक तयारीका रूपमा संस्थापन इतरबाट ७ जना सभापतिका आकाङ्क्षी छन्। सबै उम्मेदवार हुँदा देउवाले जित्नेमा पनि उनीहरूमाझ विमति छैन। तर अर्कोलाई उम्मेदवार मान्न भने उनीहरू राजी भइसकेका छैनन्।
कात्तिक २६ को बैठकपछि महामन्त्री शशाकं कोइरालाले संस्थापन इतर पक्षबाट १ भन्दा बढी उम्मेदवार भए भने देउवालाई नेतृत्व दिए भई गो नि’ भनेका थिए। अधिकांश सभापतिका आकाङ्क्षीले सबै सहमत भए आफू पनि राजी हुने बताउने गरेका छन्। तर सभापतिमा दाबेदारी गर्न भने छाडेका छैनन्।
सिंह पनि सकेसम्म आफैँ सर्वसम्मत हुने, नसके पनि उम्मेदवारी दिने रणनीतिमा देखिएका छन्। यीसँगै पूर्व सह-महामन्त्रीद्वय डा रामशरण महत र अर्जुननरसिंह केसी पनि साझा उम्मेदवार नभए आफूहरू पनि सभापतिको दाबेदार रहेको बताइरहेका छन्।
‘म पनि सभापतिको उम्मेदवार हुन्छु। साथीहरूले पनि उठ्न भन्दै हुनुहुन्छ, जिल्लाबाट पनि कुरा आएको छ। कुरा अघि बढिराख्या छ,’ डा महतले उकेरासँग भने।
त्यस्तै अर्का नेता केसी पनि साझा उम्मेदवार नभएमा सभापतिमा आफ्नो दाबी रहने बताउँछन्।
‘साझा हुन्छ भने म सघाउन तयार छु, हुँदैन भने म पनि पछि हट्ने कारण छैन। समूहमा छलफल अघि बढिरहेको छ,’ केसीले उकेरासँग भने।
अर्का नेता कृष्णप्रसाद सिटौलालाई पनि आफ्नो समूहमा ल्याउन पर्ने संस्थापक इतर समूहमा छलफल त हुन्छ तर आफैबिच सहमति हुन सकेको छैन।
नत्र दोस्रो हुने दाउ
काँग्रेसको सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनै पर्छ। पहिलो चरणमा ५१ प्रतिशत मत नआए पहिलो र दोस्रो हुने उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा हुन्छ। देउवा यस अगाडि सिटौलाको समर्थनमा दोस्रो चरणमा गएर सभापति भएका थिए।
अहिलेको अवस्थामा संस्थापन समूहमा २ जना , संस्थापन इतर समूहबाट ७ जना र सिटौला गरी सभापतिमा १० जना उम्मेदवार हुने देखिन्छ। सबैभन्दा धेरै उम्मेदवार पौडेल समूहबाट छन्।
सहमति नभए सभापतिमा दाबेदारी गरिरहेकामध्ये शशाङ्क, शेखर, प्रकाशमानको उम्मेदवारी पक्कापक्की देखिन्छ। उता निधी पनि कुनै हालतमा ब्याक हुन्न भन्दै हिँडेका छन्। यस्तो अवस्थामा सिटौलाले पनि १३ औँ महाधिवेशनमा झैँ गुटको अस्तित्वको लागि सभापतिमा उम्मेदवारी दिन सक्छन्।
यो अवस्थामा देउवासहित ६ जना उम्मेदवार हुँदा पहिलो चरणमा नतिजा आउन सक्दैन। दोस्रो चरणमा पहिलो हुने र दोस्रो हुने उम्मेदवारबिच मात्रै प्रतिस्पर्धा हुने भएकाले दोस्रो हुन नसकेका उम्मेद्वारहरुले जसलाई समर्थन गर्छन् उसैको पल्ला भारी हुनेछ।
त्यसैले उम्मेदवारी दिनु अगाडि सहमति नभए पहिलो चरणको निर्वाचनको नतिजाको आधारमा समर्थन लिने तीनै समूहका नेताहरूको रणनीति देखिन्छ।
मंसिर २, २०७८ बिहीबार २१:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।