रोल्पाको माडी खोलामा बस गुल्टिँदा चार जनाको मृत्यु
रोल्पा : रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ मा ना ३ ख ५५१८ नम्बरको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दाङको घोराहीबाट रोल्पाको थवाङ जाँदै गरेको बस बिहीबार बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
गाडी माडी खोलामा पल्टिएको र उद्धारको काम भइरहेको प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। मृतकको नाम ठेगाना खुल्न सकेको छैन। ‘बस एक सय मिटर तल खोलामा खसेर दुर्घटना भएको हो,’सुवेदीले उकेरासँग भने,‘घाइतेको यकिन तथ्याङ्क आइसकेको छैन।’
उनले खोलामा पल्टिएको बस उठाउन जेसिभी पठाइएको बताए। अँध्यारो भइसकेकाले घटनास्थलमा खोजी गर्न कठिनाइ भए पनि प्रहरी टोलीले उद्धारको काम गरिरहेको सुवेदीले बताए।
‘बस खोलामा खस्दा केही व्यक्ति उछिट्टिएको हुन सक्ने आशङ्कामा खोजी भइरहेको छ,’सुवेदीले भने,‘बसले केही मान्छे किचिएको हुनसक्ने आशङ्का पनि छ।’
मंसिर २, २०७८ बिहीबार २०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।