कार्यकर्ताको ‘पसल’ उद्घाटनमा मुख्यमन्त्री र मन्त्रीको लर्को

कार्यकर्ताको ‘पसल’ उद्घाटनमा मुख्यमन्त्री र मन्त्रीको लर्को

बुटवल–२ मैनाबगरमा मैनाबगर अटो ल्यान्ड प्रा.लि.को शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री के.सी र श्रम तथा यातायात मन्त्री पुर्मती ढेँगा पुगेका हुन। ८ करोडको लागतमा सुरु भएको उक्त अटो ल्यान्डमा सुदन ज्ञवाली, अभिमन्यु पोख्रेल, नवराज सुवेदी र विष्णुप्रसाद पाण्डेको संयुक्त लगानी रहेको छ। 

बुटवलका सङ्घसंस्थाले बोलाएको कार्यक्रममा नहिँड्ने मुख्यमन्त्री केसी, कार्यकर्ताको पसल उद्घाटनमा भने सरकारी खर्चमा हुइँकिएका छन्। यस अघि शङ्कर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहँदा पनि उनले बुटवलका कार्यक्रमलाई बेवास्ता गरेको आरोप लागेको थियो। 

अटोल्याण्ड उद्घाटन गरेका मुख्यमन्त्री केसीले अटोका क्षेत्रमा लुम्बिनी प्रदेश अगाडि रहेको बताए। उनले व्यवस्थापन र प्रवर्द्धनमा जोड दिनुपर्ने बताए। स्वदेशमै रोजगारी सिर्जना गर्ने अटो क्षेत्रको विकासका लागि प्रदेश सरकारले बनाउनु पर्ने योजना र गर्नुपर्ने भूमिकाका लागि सहकार्य गर्न आवश्यक रहेको उल्लेख गर्दै अटो व्यवसायीका हितमा काम गर्ने जनाए।

त्यसै गरी श्रम तथा यातायात मन्त्री पुर्मती ढेँगाले यातायात क्षेत्रमा विकास र वृद्धि भएको बताउँदै व्यवस्थित बनाउन विभिन्न पहल भएको जानकारी दिइन। 

मैनाबगर अटोल्याण्डका अध्यक्ष सुदन ज्ञवालीले भाडाका सवारी धनीको मर्कालाई बुझेर २४ घण्टा सर्भिस दिने गरी योजना बनाएको बताए। उक्त अटोल्याण्डमा ४० जनाले रोजगार पाएको उनले दाबी गरे। 

सो कार्यक्रममा आफ्नै पौरखले कार निर्माण गरेका बुटवलका युवा अङ्कित रसाइलीलाई सम्मान गरिएको थियो। 

मंसिर २, २०७८ बिहीबार १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।