राष्ट्रिय सभामा रिक्त हुने सदस्यकाे चुनाव माघ १२ मा गर्ने सरकारको निर्णय 

राष्ट्रिय सभामा रिक्त हुने सदस्यकाे चुनाव माघ १२ मा गर्ने सरकारको निर्णय 

मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले माघ १२ गते राष्ट्रिय सभा सदस्यको चुनाव गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए। 

राष्ट्रिय सभाका १९ सदस्यको म्याद फागुन २० मा सकिँदै छ। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत अर्का एक जनाको पनि त्यही बेला म्याद सकिने भए पनि त्यस ठाउँमा चुनाव गराउनुपर्दैन । राष्ट्रिय सभा निर्वाचन ऐनको दफा ५ मा सरकारले बहालवाला सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन हुने गरी मिति तोक्नुपर्ने प्रावधान छ ।

राष्ट्रिय सभा निर्वाचन ऐनको व्यवस्था कार्यान्वयन गर्न माघ १२ गते सरकारले चुनाव गर्ने निर्णय गरेको हो। 

राष्ट्रिय सभा सदस्य अगमप्रसाद बान्तवा राई, जीवन बुढा, कविता बोगटी, उदया शर्मा पौडेल, तारादेवी भट्ट, नैनकला ओझा, शशिकला दाहाल, शान्तिकुमारी अधिकारी, कोमल वली, खिमकुमार विक, चक्रप्रसाद स्नेही, राम लखन चमारको कार्यकाल फागुन २० मा सकिन लागेको हो। 

यस्तै दृगनारायण पाण्डेय, ठगेन्द्रप्रकाश पुरी, दीनानाथ शर्मा, परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी, शेरबहादुर कुँवर, सुमनराज प्याकुरेलको कार्यकाल पनि फागुन २० मा सकिँदै छ। 

एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादी र माओवादीका ४–४ र मनोनीत एक जनाको अवधि सकिन लागेकाले माघ १२ गते चुनाव गर्ने निर्णय सरकारले गरेको छ। 

राष्ट्रिय सभाको पहिलो कार्यकाल एक तिहाइको २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र बाँकीको ६ वर्ष हुन्छ। त्यसपछि निर्वाचित हुने सांसदको कार्यकाल ६ वर्ष हुन्छ । 

पालिकाका प्रमुख, उपप्रमुख र प्रदेश सांसदले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्छन् । 

यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १२ औँ तहमा तीन जना चिकित्सकलाई बढुवा गर्ने निर्णय गरेको छ। बैठकले डा श्याम सुन्दर यादव, डा भिमसिंह टिंकरि र डा गुणराज लोहनीलाई १२ औँ तहमा बढुवाको निर्णय गरिएको स्वास्थ्यमन्त्री खतिवडाले जानकारी दिए। 

यस्तै मन्दिरमा हुने काटमार न्यूनीकरण गर्न समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको मन्त्री खतिवडाले जानकारी दिए।

मंसिर २, २०७८ बिहीबार १८:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।