बारले भन्यो, आजको घटनामा माफी नमागे अन्तर्राष्ट्रियकरण गर्छौ 

बारले भन्यो, आजको घटनामा माफी नमागे अन्तर्राष्ट्रियकरण गर्छौ 

आकस्मिक पत्रकार सम्मेलन गरेर बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई गोला झिक्न नदिने र न्याय सम्पादन कार्यमा सहभागी नगराउने बताएका हुन्। 

उनले गोला प्रथामा प्रधानन्यायाधीशलाई संलग्नता नगराउनेमा न्यायाधीशहरू एकमत रहेको दाबी समेत गरे। अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणाको अन्तिम विकल्प राजीनामा मात्रै भएको बताए। 

बार एसोसिएसनले कानुन व्यवसायीमाथि एसएलआरसहितका दङ्गा प्रहरीबाट भएको आक्रमणको सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र अदालतमा खटिएका प्रहरीका एसपीले माफी माग्नु पर्ने बताएको छ। ‘रजिस्ट्रार र एसपीले माफी मागे सोच्न सकिन्छ,’बारले भनेको छ,‘होइन भने आजको आक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्छौ।’ 

बार एसोसिएसनका अनुसार आजको प्रदर्शनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सामान्य घाइते भएका छन् भने केन्द्रीय सदस्य प्रकाश महर्जनको टाउकोमा गम्भीर  चोट लागेर अस्पताल भर्ना भएका छन्। 

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल, सर्वोच्च बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे, अधिवक्ताहरू कपिनचन्द्र पोखरेल, युवराज बन्जाडे, नितेश श्रेष्ठ, रमणलाल कर्ण तथा उच्च अदालत बार पाटनका सदस्य अधिवक्ता गोपाल सापकोटा लगायत धेरै कानुन व्यवसायीहरू घाइते भएका बार एसोसिएसनले जनाएको छ। 

‘आजको बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र आगामी कार्यक्रमहरूमा अनुगमन गर्न हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै मानवअधिकार सम्बन्धी सङ्घ संस्थाहरूलाई आह्वान गर्दछौँ,’बारले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘भोलि देखि नै अदालत परिसरबाट दङ्गा प्रहरी हटाउन गृह प्रशासन र अदालत प्रशासनको गम्भीर  ध्यानाकर्षण गराउँदछौ।’

बारले बिचौलिया वा भिजिलान्तेहरुबाट कुनै पनि कानुन व्यवसायी माथि आक्रमण तथा असुरक्षाको अवस्था उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रधान न्यायाधीश, अदालत प्रशासन र गृह प्रशासनले लिनुपर्ने चेतावनी पनि दिएको छ। 

आजको घटनाको विरुद्धमा भोलि बिहान १० बजे सर्वोच्च अदालत परिसरमा भेला भई थप सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्ने बार एसोसिएसनले जानकारी दिएको छ। 

मंसिर २, २०७८ बिहीबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।