प्रधानन्यायाधीश अस्ताउन लागेका घाम हुन् : सर्वाेच्च बारका अध्यक्ष शाक्य

प्रधानन्यायाधीश अस्ताउन लागेका घाम हुन् : सर्वाेच्च बारका अध्यक्ष शाक्य

काठमाडाैंः सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई अस्ताउन लागेकाे घामकाे संज्ञा दिएका छन्। नेपाल बार एसाेसिएसनले आयाेजना गरेकाे विराेध सभामा सम्बाेधन गर्दै शाक्यले यस्ताे बताएका हुन्। 

'प्रधानन्यायाधीश अस्ताउन लागेको घाम हो। उनी प्रधानन्यायाधीश छैनन् भनेर हामीले भनिसकेका छौं। सम्पूर्ण बल देखाउन बाँकी छ। यो आन्दोलन ट्रेलर मात्रै हो, होसियार', उनले भने। 

उनले सबै पक्षबाट बहिष्कार र तिरस्कार गरिसकेपछि पनि अदालतकाे नेतृत्त्व गर्छु भन्नु दिवास्वप्न मात्र भएकाे पनि बताए। उनले बारकाे बटमलाइन प्रधानन्यायाधीशकाे राजीनामा भएकाले आन्दाेलन फिर्ता नहुने पनि स्पष्ट पारे। 

यस्तै उनले गाेलाप्रथाबाट ताेकिएका मुद्दा मात्र हेर्ने पनि बताए। 'हामी गोलाप्रथाबाट तोकिएको मुद्दा हेर्छौं। चोलेन्द्रले तोकेको कजलिस्ट हेर्दैनौं। बेञ्च सेयर गर्दैनौं', उनले भने। 

यस्तै विराेध सभामा नेपाल बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले अदालत परिसरमा एसएलआरसहितका सुरक्षाकर्मी परिचालन गरिएको विषयलाई अन्तर्राष्ट्रियकरण गरिने बताए। उनले भने, 'एक व्यक्तिको सुरक्षामा सुरक्षाकर्मीको दुरुपयोग गरियो। कलम र आवाज लिएर जाँदा हामीलाई दमन गरियो।'

यस्तै बारका पूर्वअध्यक्ष हरिहर दाहालले प्रधानन्यायाधीश निभ्न लागेको बत्ती भएकाे बताए। उनले भने, 'विनाशकाले विपरीत बुद्धि भने जस्तो चोलेन्द्रले विपरीत बाटो लिइरहेका छन्। प्रहरी लगाएर गरिएको दमन र क्षतिको जिम्मेवार चोलेन्द्र हुन्।'

मंसिर २, २०७८ बिहीबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।