५० वर्षदेखि विवादित जग्गा : विद्यालयको नाममा पुर्जा छैन, फैसला हुँदा पनि जग्गाधनीले पाएनन् भोगाधिकार

५० वर्षदेखि विवादित जग्गा : विद्यालयको नाममा पुर्जा छैन, फैसला हुँदा पनि जग्गाधनीले पाएनन् भोगाधिकार

बुटवल : तिलोत्तमा नगरपालिका- ९ मा रहेको गौतम बुद्ध माध्यमिक विद्यालयको आफ्नो लालपुर्जा छैन। विद्यालयले पौने दुई विघा जग्गा भोगाधिकार गरे पनि लालपुर्जा नहुँदा पूर्वाधार विकास प्रभावित भएको छ। पूर्वाधार विकासमा समस्या हुँदा शिक्षामा सोचे प्रगति गर्न विद्यालयले सकेको छैन।

५० वर्षदेखि विद्यालयको जग्गा विवादमा छ। जग्गाधनीले जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चबाट भोगाधिकार पाए पनि जग्गाको उपयोग गर्न पाएका छैनन्। विद्यालय अहिले समाजसेवी डिल्लीरमण शर्मा रेग्मीको जग्गामा छ।

त्यसो त यो विद्यालयको जग्गा विवादको सुरुवात २०२८ सालदेखि भएको हो। विद्यालयले प्राप्त गरेको जग्गाको दावी छाडेर समाजसेवी डिल्लीरमणको हडपेपछि विवाद सुरु भएको घटनाक्रमले देखाउँछ। प्रधानपञ्चातकालमा भएको जग्गा विवाद अहिले पनि साम्य भएको छैन। विद्यालय लालपुर्जाविहीन छ, समाजसेवी डिल्लीरमणले जग्गाको भोगाधिकार पाएका छैनन्।

कसरी भयो विद्यालयको जग्गा विवाद 
तत्कालीन करहिया गाउँपञ्चायतका विद्यार्थीहरु शान्ति नमुना विद्यालयमा पढ्न जान्थे। त्यहाँका विद्यार्थीलाई गाउँमै पढाउन भन्दै विसं. २०२६ सालमा भलबारीको बगौचामा केटाकेटी जम्मा गराएर पढाउन थालियो। एक वर्ष केटाकेटी जम्मा गराएर पढाइयो। तर विद्यालय सञ्चालन गर्न कठिन भयो।

त्यसपछि गाउँकै ऋषिराम शास्त्री, डिल्लीरमण शर्मा रेग्मी, प्रधानपञ्चकै सल्लाहमा विद्यालय केउलानी ल्याइयो। प्राचार्य बाबुराम रानालाई बनाइयो। विद्यालयलाई स्थायित्व दिनु थियो। जग्गाको खोजी भयो। ऋषिराम शास्त्री र डिल्लीरमण शर्मा रेग्मी जग्गाको खोजीमा हिँडे।

त्यही क्रममा सरदार राममणिको जग्गा १० बिघा त्यहाँ थियो। उनीबाट ४ बिघा जग्गा विद्यालयलाई माग भयो। ‘विद्यालयलाई जग्गा मागेपछि सरदारले साढे ३ बिघा तत्काल दिने बचन दिनुभयो। पछि अपुग भए १० कठ्ठा दिने भनेपछि जग्गा स्कुलका नाममा दर्ता गराउने प्रक्रिया सुरु भयो,’ समाजसेवी डिल्लीरमण शर्मा रेग्मीले भने।

२०२७ सालमा जग्गा दर्ताका लागि अञ्चालाधीश सामु तोक लगाउने काम भयो। तत्कालीन करहिया वडा नं ९ को (ग-१-१५-१६) नं. को जग्गा स्कुलका नाममा बनाउन तोक लगाउने काम भयो। डिल्लीरमण भन्छन्, ‘दर्ताको काम अघि बढेपछि भवन बनाउन हामी लाग्यौं। २०२८ सालमा करहियाका ९ वटै वडाका जनताको श्रमदानबाट डेढ लाख इँटा ल्याइयो। केही काठ पनि जम्मा भयो। अनि २०२८ साल भदौ ४ गते विद्यालयको शिलान्यास पनि भयो। त्यो बेला ७५ हजार रुपैयाँ जिल्ला पञ्चायतले अनुदान समेत दियो।’

विद्यालयमा भवन बनाउने तयारी भयो। त्यही क्रममा डिल्लीरमण कामको सिलसिलामा नेपाल बाहिर थिए। ऋषिराम शास्त्रीलाई निर्माण समितिको अध्यक्ष बनाइएको थियो।

‘मंसिरपछि भवन बनाउने तयारीमा थियौं। कामले म भारत गएँ। २७ दिन बसेर नेपाल आउँदा यहाँको घटनाक्रम सबै बदलिएको रहेछ,’ डिल्लीरमणले विगत कोट्याए।

डिल्लीरमण २०२८ सालमा कांग्रेसको जिल्ला सभापति थिए। कांग्रेस सभापति भएकै कारण उनको नेतृत्वमा स्कुल बनाउन हुँदैन भनेर त्यहाँकै कविराम पुन लागेका थिए।

डिल्लीरमण नेपालमा नभएको मौकामा दर्ता हुन लागेको जग्गा उनकै बलमा दर्ता हुनबाट रोकियो। ‘ऋषिराम शास्त्रीलाई खुट्टा भाँचिदिने धम्की दिइएछ। उनलाई तिनाउ नदीमा लखट्दै कुटपिट र लुटपाट गरिएछ। अध्यक्ष पद छाड्न दबाब दिएपछि ऋषिरामले करहियाकै उपप्रधानपञ्चको घरमा शरण लिए। अध्यक्ष पद छाड्न बाध्य बनाउने काम भयो,’ उनले भने।

अध्यक्ष ऋषिराम शास्त्रीलाई धम्कीले राजीनामा दिन लगाएपछि कविराम पुन विद्यालयको अध्यक्ष भए। त्यसपछि कविरामले सरदार रामणीले दिएको जग्गामा नभई रिस साँधेर डिल्लीरमण शर्माको खेत बीचमा स्कुल बनाउन सुरु गरे।

‘म २७ दिनपछि नेपाल आउँदा खेतमा प्रहरी लगाएर स्कुल भवन बनाउने काम भएको थियो। श्रीमतीलाई अञ्चलाधीशकहाँ बिहानै तारेक बोक्न बोलाउने, साँझ केटाकेटी रेखदेखका लागि घर पठाउने गरिएको थियो,’ उनले भने।

त्यसपछि जग्गाको विवाद सुरु भयो। कविराम पुनले डिल्लीरमणको जग्गा हडपेर स्कुल बनाएपछि डिल्लीरमण न्यायका लागि हिँडे। 

विद्यालयले प्राप्त गरेको जग्गा पछि कविराम पुनले विसं. २०३८ सालमा तत्कालीन करहिया वडा नं. ९ मा सरदारले दिएको जग्गाको दावी छाडे। 

‘विद्यालयका लागि मागेको जग्गाको दावी छाडेर मेरो जग्गा हडप्ने काम भयो। म न्यायका लागि जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च पुगें। सर्वोच्चले समेत जग्गाको भोगाधिकार दिने फैसला गरेको छ। तर भोगाधिकार गर्न पाएको छैन,’ उनले भने।

उनले ५० वर्षदेखि आफूलाई भएको अन्यायका लागि लडेको तर क्षतिपूर्तिका लागि भने नलडेको उनले बताए। विद्यालयको जग्गा विद्यालयलाई र आफ्नो जग्गा आफूलाई हुनुपर्ने उनको भनाइ छ।

‘विद्यालयले दावी छाडेको जग्गामा अहिले वडा कार्यालय समेत बनेको छ। त्यो जग्गा स्कुलको हो भनेर तोक समेत लगाइएको हो। त्यो जग्गा स्कुलको हुनुपर्छ। मेरो जग्गा मलाई चाहिन्छ। अन्यथा मसँग कुनै समझदारी हुँदैन,’ उनले भने।

९१ वर्षीय डिल्लीरमणले स्कुलको जग्गा प्राप्तिका लागि वडा कार्यालयमा अनसन गरेर देह त्याग गर्न पनि तयार रहेको बताए।

विद्यालयको दावी जग्गा १० हजारमा छाडेपछि समाजसेवी रेग्मीले आफ्नो जग्गाको हक खोज्नुभएको विद्यालयका पुराना शिक्षक अकबर अली शेखले बताए।

विद्यालयका प्राचार्य मिर्गेन्द्र रिजालले पुरानो जग्गा विवाद भए पनि भएको पर्ती जग्गाको लालपुर्जा निकाल्न आफू लागेको बताए। ‘म भर्खर प्राचार्य भएर आएको छु। किचलो पुरानो हो। यसको निकास स्थानीय पालिकाले समन्वय गरेर गनुपर्छ,’ उनले भने। पर्ती जग्गाको नापजाँच भइसकेकको र प्लट खुलाएर तिलोत्तमा नगरपालिकामा पेस समेत गरिएको उनको भनाइ छ।

उनले समाजसेवी रेग्मीसँग भेट गरी तपाईंकै नाममा विद्यालय बनाउने गरी अघि बढ्न प्रस्ताव गरे पनि विद्यालयले दावी गरेको जग्गा छाडेकाले आफ्नो जग्गा विद्यालयलाई नदिने जवाफ दिएको बताए।

प्राचार्य रेग्मीले विद्यालयको नाममा लालपुर्जा नहुँदा बिएमसी क्लबले पनि विद्यालयको चौर प्रयोग गरेको र बगैंचा समेत बनाउन कठिन भएको बताए। ‘त्यहाँ विद्यालय आवश्यक छैन भने मर्ज गरिदिनुपर्छ। कि स्कुललाई अन्यत्र जग्गा खोज्नु पर्यो,’ उनले भने। 

उनले क्लबलाई अनेत्र जग्गा दिन पनि स्थानीय तहलाई आग्रह गरे। ‘यो सबैको मैदान हो भनेर खेलमैदान प्रयोग भएको छ। शौचालयको चाबी हामीले लगाउन पाएका छैनौं। यसप्रति गम्भीर चासो पालिकाले दिनुपर्छ।’ उनले भने।

प्राचार्य रेग्मीले नगरपालिकामा भवनको माग गर्दा जग्गा छैन भनेर शिक्षक महासंघकै सदस्यबाट बेइज्जती खेप्नु परेको बताए। ‘स्कुलको जग्गा छैन भनेर भवन नदिने, पाल टागेर विद्यार्थीलाई चउरमा पढाउने हो,’ उनले भने।

मंसिर २, २०७८ बिहीबार १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।