सुर्खेतमा कांग्रेस अधिवेशन: ६ पालिकामा खड्का पक्षका उम्मेदवारले जिते, अरूमा आज मतदान हुँदै
सुर्खेतः नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतका ९ वटा पालिकामध्ये ६ पालिकाको नतिजा सार्वजनिक भएको छ।
६ वटै पालिकामा कांग्रेस सभापति शेरबहादुर देउवा समर्थित महामन्त्री पूर्णबहादुर खड्काको प्यानल नै नेतृत्वमा विजयी भएको छ।
तर रामचन्द्र पौडेल समर्थित हृदयराम थानीको प्यानलले आफ्नो विरासत जोगाउन भने सकेन। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये सिम्ता गाउँपालिका, बराहताल गाउँपालिका, चिंगाड गाउँपालिका, गुर्भाकोट नगपालिका, भेरीगंगा नगपालिका र लेकबेंसी नगरपालिकामा खड्का पक्षको प्यानल नै विजयी भएको छ।
गुर्भाकोटमा हस्त पुन विजयी भएका छन्। यो पालिकामा थानी पक्षकाले उम्मेदवारी नै दिएनन्। उपसभापतिमा लालबहादुर पुन, मधु गुरुङ, सचिवमा वासुदेव शर्मा, प्रेमप्रकाश वली र सहसचिवमा रुपक पौडेल, पुष्पा नेपाली विजयी भएका छन्।
उनीहरू पौडेल समूहका हुन्। यस्तै, लेकबेंशी नगरपालिकाको सभापतिमा उमेश पौडेल विजयी भएका छन्। सर्वसम्मत भएको नेतृत्वमा सबै कार्यसमिति नै खड्का पक्षको हो।
चिंगाड गाउँपालिकाको सभापतिमा डोरप्रसाद शर्मा विजयी भएका छन्। उनले पौडेल समूहका करसिंह रानालाई हराउँदै सभापतिमा विजयी भएका हुन्। शर्माले ६४ मत ल्याउँदा थानी समूहका रानाले ३५ मत प्राप्त गरे।
भेरीगंगा नगरपालिकाको नगर सभापतिमा रामबहादुर सिंह विजयी भएका छन्। उनले १९४ मत ल्याएका छन्। थानी समूहका किरणकुमार भाट क्षत्रीले २२ मत ल्याए। भेरीगंगाको कार्यसमितिमा भने खड्का समूहको प्यानल नै विजयी भएको छ।
उपसभापतिमा रेशमबहादुर पुन मगर, प्रतिक्षा विक, सचिवमा लालसिंह बुढाक्षत्री र हिरालाल खत्री, सहसचिवमा टीकाराम वली र धर्मराज खड्का विजयी भएका छन्।
यता, बराहताल गाउँपालिकाको सभापतिमा भिमबहादुर भण्डारी विजयी भएका छन्। उनले थानी समूहका भुवनसिंह सिंजापतिलाई हराएका हुन्। भण्डारीले १०४ मत ल्याउँदा सिंजापतिले ५० मत मात्रै ल्याए।
पूर्वीसुर्खेतको सिम्ता गाउँपालिकाको सभापतिमा थानी पक्षले उम्मेदवारी नदिँदा खड्का पक्षबाट दुई जना सभापतिमा लडेका थिए। सभापतिमा भने वीरेन्द्र रावत विजयी भएका छन्। उनले ११९ मत ल्याएका छन्। पराजित उम्मेदवार अशोक केसीले २४ मत मात्रै ल्याए।
यस्तै तीन पालिकामा आज अधिवेशन हुँदैछ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा बुधबार नै अधिवेशन गर्ने तयारी गरे पनि निर्वाचन समितिका कारण स्थगित भएको हो। तर यहाँ आज नै नयाँ नेतृत्वका लागि मतदान हुँदैछ।
सभापतिमा खड्का पक्षका उपेन्द्र खड्का र थानी पक्षका नारायण कोइरालाको उम्मेदवारी परेको छ। वीरेन्द्रनगरमा पनि खड्का समूह र थानी समूहबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
पश्चिमसुर्खेतको चौकुने गाउँपालिकामा खड्का पक्षका हेमराज खनाल र थानी पक्षका नर बहादुर बान्तोलाको उम्मेदवारी परेको छ। चौकुनेमा प्रतिनिधि लगभग बराबरी हुँदा दुवै समूहबीच यहाँ पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यस्तै पञ्चपुरी नगरपालिकामा खड्का समूहबाट कृपाराम थापा र थानी टीमबाट थानी प्रसाद घिमिरेको उम्मेदवारी परेको छ। आज नै अधिवेशन सक्ने गरी तयारी थालिएको छ।
मंसिर २, २०७८ बिहीबार ११:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।