कांग्रेस महाधिवेशन: पर्वतमा सभापतिको उम्मेदवार हुन ५० हजार शुल्क
पर्वतः नेपाली कांग्रेसको पर्वत जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि ५० हजार शुल्क तोकिएको छ। पार्टीकाे बुधबार बसेकाे कार्यसमिति बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो।
जिल्ला सभापतिका लागि एक लाख ५० हजार शुल्क तोक्न प्रस्ताव आए पनि विरोध भएपछि ५० हजार तोकिएको हो। महाधिवेशन प्रतिनिधिका लागि पनि २५ हजार शुल्क तोकिएको छ।
यस्तै जिल्ला कार्यसमिति सदस्यका लागि १० हजार शुल्क तोकिएको छ भने क्षेत्रीय सभापतिका लागि १५ हजार तोकिएको छ। प्रदेश प्रतिनिधिका लागि १० हजार तोकिएको छ।
कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालका अनुसार ताेकिएका शुल्क ऐच्छिक हुन्। “जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो”, उनले भने, “दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएका क्षेत्रका उम्मेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन।”
केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई १० हजार, उपसभापति र सचिवका लागि सात हजार, सहसचिवका लागि ६ हजार र सदस्यका लागि तीन हजार शुल्क तोकेको छ।
यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई पाँच हजार, उपसभापति र सचिवलाई तीन हजार, सहसचिवलाई दुई हजार ५०० र सदस्यलाई दुई हजार शुल्क निर्धारण गरेको छ।
मंसिर २, २०७८ बिहीबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।