कांग्रेस महाधिवेशन: गच्छदार वडा स्तरदेखि नै कमजाेर

कांग्रेस महाधिवेशन: गच्छदार वडा स्तरदेखि नै कमजाेर

इटहरीः नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार हाल गृहजिल्लामा सक्रिय भएका छन्। कांग्रेसको क्षेत्रीय अधिवेशन जारी रहेको बेला गच्छदारले निर्वाचन क्षेत्रमा आफ्नो सक्रियता बढाएका हुन्। आफ्नो पक्षका उम्मेदवारलाई नेतृत्त्वमा ल्याउने जोडबलसहित भेटघाटलाई तीव्रता दिएका छन्।

गच्छदारले दुहबीस्थित घरमै बसेर सुनसरी क्षेत्र नम्बर ३ का नेता कार्यकर्तासँग भेटघाट अगाडि बढाएका छन्। नेता कार्यकर्तालाई व्यक्तिगत र समूहगत रूपमा बोलाएर सहमतिको लागि आग्रह र निर्देशन दुवै गरिहेका छन्। सहमति गरेर केन्द्रीय स्तरमै म्यासेज दिनुपर्ने भन्दै उनले मेहनत गरेका हुन्।

पूर्व फोरम लोकतान्त्रिकनिकट उम्मेदवारलाई क्षेत्रीय सभापति बनाउने गरी उनको प्रयास जारी छ। गच्छदारले यस पटक स्थानीय कार्यकर्तासँग याचना गरिरहेका छन्। आफ्नो पक्षमा सहमति गराउन सके केन्द्रमा उम्मेदवार बन्न सहज हुने उनको बुझाइ छ।

क्षेत्रीय सभापतिमा कुमारजङ्ग थापा र प्रदीप चौधरीमध्ये एकको नाममा सहमति गराउनुपर्ने उनको चाहना छ। क्षेत्रमा सहमति गरे प्रदेश निर्वाचन क्षेत्रदेखि महाधिवेशन प्रतिनिधिमा पनि सहमति गराउने उनको तयारी छ। प्याकेजमा सहमति गराउने गरी उनले आफ्नो पक्षका नेताहरूको लिस्ट तयार पारेका छन्।

नेविसंघदेखि नै उनीनिकट रोहित प्रसाईं पनि क्षेत्रीय सभापतिको उम्मेदवार हुन्। हाल देउवा समूहकै प्रसाईं भन्दा पनि थापा र चौधरी उनको पहिलो रोजाइमा परेका छन्। लोकतान्त्रिकमा साथ दिएका नेताहरूलाई सभापति बनाउन सके आगामी निर्वाचन र पार्टीका हरेक गतिविधिमा आफ्नो वर्चस्व कायम रहने उनको बुझाइ छ।

यसअघिको पालिका अधिवेशनमा पनि उनले सिफारिस गरको नेतामा सहमति गराउन नसकेर निर्वाचन भएको थियो। गृहनगर दुहबीमा टेकचन्द्र विश्वासको नाममा सहमति गराउन खोजेका उनी असफल भए। पछि विश्वास र दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारबीच निर्वाचन भयो। वेदनारायण फराकिलाे मतअन्तरले विजयी भए।  

हाल क्षेत्रीय सभापतिका बलिया उम्मेदवार हुन मेहदी हुसेन। संस्थापन इतर समूहका हुसेन सहमतिमा आफू सभापति नभए निर्वाचन मार्फत नेतृत्त्व चयन गर्नुपर्ने लाईनमा छन्। सहमतिको नाममा आफूले उम्मेदवारी फिर्ता नलिने उनको अडान छ।

गच्छदारले प्रदेश सभाको उम्मेदवार बनाउने बचा गरे पनि हुसेनले अस्वीकार गरेका छन्। क्षेत्रीय सभापति भएर पार्टीको नेतृत्त्व गर्ने इच्छा भएको भन्दै उनले गच्छदारको योजना असफल बनाउने भएका छन्।

क्षेत्रीय सभापतिमा आफूनिकट र महाधिवेशन प्रतिनिधिमा बहुमत पुर्याउन सके केन्द्रमा पनि पद माग्न सजिलो हुने उनको बुझाइ छ। वडा स्तरदेखि नै कमजोर भएका गच्छदारलाई १४औं अधिवेशन महँगो पर्ने भएको छ।

क्षेत्रीय प्रतिनिधिमा इतर पक्ष निकै बलियो भएका कारण सहमतिको सम्भावना कम रहेको छ। सुनसरी सभापति राजीव कोइराला आफैं इतर पक्षका नेता हुन्। मुख्यमन्त्री बन्ने तयारीमा रहेका कोइरालाले सुनसरीमा देउवा पक्षका दुई प्रभावशाली नेताको कारण नपाएको बुझाइ व्याप्त छ।

गच्छदारको प्रभाव घट्दै गए पनि उनलाई सहमति गराउन हम्मेहम्मे परेको छ। लामो समय काठमाडौंमै रहने र स्थानीय कार्यकर्तालाई निर्देशन दिने उनको शैलीले उनी प्रभावहीन बन्दै गएको देखिन्छ।

गच्छदारनिकट क्षेत्रीय सभापतिका दाबेदार प्रदीप चौधरीका अनुसार प्रदेशमा सहमति भएपछि क्षेत्रमा छलफल हुने भएको छ। ४ गते प्रदेश निर्वाचन क्षेत्र र महाधिवेशन प्रतिनिधिको निर्वाचनको कार्यतालिका छ। सोहीअनुसार २ गतेभित्रै प्रदेश महाधिवेशन प्रतिनिधि र कार्यसमितिमा सहमति गराउने तयारी रहेको उनले सुनाए।

तर इतर समूहले प्याकेजमा सहमति नगरे नमान्ने भएपछि गच्छदार बिलखबन्दमा परेका छन्।

मंसिर २, २०७८ बिहीबार ०९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।