स्थानीय तहकाे डम्पिङ साइट जङ्गल क्षेत्र: तस्करी माैलायाे, किसानकाे खेतमा सिसा र प्लास्टिक

स्थानीय तहकाे डम्पिङ साइट जङ्गल क्षेत्र: तस्करी माैलायाे, किसानकाे खेतमा सिसा र प्लास्टिक

इटहरीः प्रदेश १का दुई ठूला शहर धरान र इटहरी उपमहानगरपालिकाको चारकोशे झाडीमा फोहोर थुपार्न थालेको ४ वर्ष भयो। स्थानीय तहको निर्वाचनपश्चात् फोहोरमैला व्यवस्थापन गर्ने भन्दै चारकोशे झाडीमा फोहोर थुपार्न थालिएको थियो।

फोहोरमैला व्यवस्थापनको लागि मासिक ३ लाख खर्च गर्छ इटहरी। यता फोहोर संकलनमै धरानले वार्षिक ४ करोड खर्च गर्दै आएको छ। तर डम्पिङ साइट भने उही जङ्गल क्षेत्र हाे।

चारकोशे झाडीको बीचमा फोहोरको डङ्गुर थुपार्ने र आगो लगाउने क्रम बढेसँगै यी क्षेत्रमा वन विनाशले तीव्रता पाएको छ। वन विनाशसँगै वन्यजन्तु र काठको तस्करी सुरु भएको छ।

इटहरी-१९ का स्थानीय रामकुमार गिरीका अनुसार फोहोर खान पुगेका बदेल र हरिणको तस्करी हुने गरेको छ। स्थानीय प्रशासनकै मिलेमतोमा वन्यजन्तुको तस्करी हुने गरेको उनले सुनाए। त्यससँगै आगो लागेर ढलेका रुखहरूको तस्करी बढ्दै गएको उनले बताए।

यता नदीले फोहाेर बगाएर ल्याउँदा किसानका खेत डम्पिङ साइटझैं बनेकाे छ। हासपोसा सामुदायिक वनमा फ्याँकिएका सिरिन्ज र सिसा बगेर खेतबारीमा पुगेपछि किसान चिन्तित छन्। रामधुनी-७ बक्लौरीका किसान रमेश दाहाल अघिल्लो वर्षदेखि खेतमा सिसाका टुक्रा देखिन थालेको बताउँछन्। खोलाकै पानीले सिँचाई गर्दै आएका उनले पानीसँगै सिसा, प्लास्टिक र सिरिन्ज आउने गरेको सुनाउँछन्।

खेतमा जान पनि डरमर्दो अवस्था आएपछि जग्गा प्लटिङ गरेर बिक्री गर्ने योजनामा पुगेका छन् दाहाल। खेलाले बगाएर ल्याएको प्लास्टिकलगायत फोहोर खेतबारीमा थुप्रिएपछि उब्जनी घटेको उनको बुझाइ छ।

धरानमा 'भेञ्चर वेस्ट टु ईनर्जि प्राली'ले फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको छ। धरान उपमहानगरका वातावरण अधिकृत भेषराज घिमिरेले फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्रशोधन प्लान्टको निर्माण कार्य सुरु हुने तरखरमा रहेको बताए।

'मङ्सिरभित्रमा फोहोरबाट ऊर्जा उत्पादन सुरु गरी उत्पादित ग्यास बजारमा बिक्री गरिन्छ। हाल डम्पिङ्ग साइटमा केही समस्या देखिएको छ। त्यसको व्यवस्थापनका लागि र फोहोर जल्ने समस्या समाधान गर्ने कार्यमा धरान उपमहानगरपालिका लागिपरेको छ', उनले भने। 

डम्पिङ साइटमा आगलागी हुँदा बेलाबेलामा वातावरणीय समस्या सिर्जना हुने गरेको र अब चाँडै नै डम्पिङ साइट व्यवस्थित गरी दैनिक रूपमा फोहोर व्यवस्थापन गरिने उनले प्रष्ट पारे।

उता इटहरी उपमहानगरपालिकामा 'वेस्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्राली'ले फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको छ। २० वर्षको लागि जिम्मा पाएको कम्पनीले डेढ वर्षमा प्लान्ट निर्माण गर्ने गरी २०७५ बैशाखमा सम्झौता गरेकाे थियाे।

हालसम्म ६ पटक म्याद थपिससकेको कम्पनीले प्लान्टमा फोहोर लैजाने तयारी गरेको छैन। फोहोर प्रशाेधन प्लान्ट अन्योलमा छ। पुनः म्याद थप्नुपर्ने अवस्थामा उपमहानगर पुगेको छ।  

समस्या इटहरी र धरानमा मात्र हैन। विर्तामोड नगरपालिकाले पनि फोहोरमैला व्यवस्थापनमा उदासीनता देखाएको छ।

स्थानीय खोला र खोल्सामा फोहोर विसर्जन गर्दै आएको नगरपालिकाले अझैसम्म ल्याण्ड फिल साइट निर्माण गर्न सकेको छैन। खोलाको फोहोर गाउँमा छिरेर स्थानीयले विरोध जनाएपछि विर्तामोड नगरपालिकाले फोहोर संकलन बन्द गर्ने गरेको छ।

विराटनगर महानगरपालिकाले केसलीय खोलालगायतका स्थानमा फोहोर विसर्जन गर्दै आएको छ। अहिलेसम्म फोहोरमैला व्यवस्थापन प्लान्ट निर्माण गर्न नसकेको महानगरले त्यसबारे कुनै योजना बनाएको छैन।

चुरे आसपासका पालिकाहरू जङ्गल मासेर भ्यूटावर बनाउन लागि परेकाे बेला राजमार्ग क्षेत्रका पालिकाले जङ्गलमा फोहोर विसर्जन गर्ने कार्यलाई तीव्रता दिएका छन्।

भएका पाेखरी तथा तालमा पनि कन्क्रिट संरचना निर्माण गरेर पानीका श्रोत सुक्दै गएका छन्। पानीलाई संरक्षण गर्नुभन्दा ढलान गरेर संरचना बनाउँदा वातावरणमा समस्या निम्तिएको पर्यावरणविद् प्रमोद घिमिरे बताउँछन्। उनी भन्छन्, 'यसैगरी पाेखरी तथा तालमा पिकनीक स्पटका नाममा संरचना बनाउँदै जाने हो भने पर्यावरणीय संकट बढ्दै जान्छ।'

जङ्गलमा फोहोर फ्याँक्नु कानूनविपरीत मात्र नभइ प्रकृतिप्रतिको अत्याचार भएको पनि उनको भनाइ छ। यसको असर प्रत्यक्ष रूपमा मानव जीवनमा नै पुग्ने भएकाले बेलैमा ध्यान दिन उनले आग्रह गरे।

वन्यजन्तु र वनजङ्गलको संरक्षण नहुँदा मानवजातिले ठूलो क्षति व्यहाेर्नुपर्ने उनले सुनाए।

मंसिर २, २०७८ बिहीबार ०८:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।