एमाले महाधिवेशन: प्रचारका लागि ७७ जिल्लामै मोटरसाइकल र्याली
काठमाडाैंः नेकपा एमालेले आसन्न १०औं महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्याली गर्ने भएकाे छ। महाधिवेशन प्रचार समितिका सञ्याेजक याेगेश भट्टराईका अनुसार ७७ वटै जिल्लाका सदरमुकामहरूमा र्याली गरिने भएकाे हाे।
र्याली मङ्सिर ७ गतेका लागि तय गरिएकाे छ। बुधबार महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले बागमती, लुम्बिनी र प्रदेश नं २ का प्रादेशिक पार्टी र जनसङ्गठनको तहबाट र्यालीको सञ्योजन हुने बताए।
एमालेले महाधिवेशनमा कुनै पनि भित्तेलेखन तथा पोष्टर नटाँस्ने र डिजिटल मिडियाको प्रयोग गर्ने भट्टराईले बताए। प्रचार समितिले मैथिली, भोजपुरी, अवधी, थारु, तामाङ, चेपाङ, नेपाली र अङ्ग्रेजीलगायतका भाषामा प्रचार ब्यानर र भिडियो क्लिप निर्माण गरिरहेको उनकाे भनाइ छ।
मंसिर २, २०७८ बिहीबार ०७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।