रमिता देखाउँदै स्थानीय तह : कहिले नेता आउँदा बिदा, कहिले पार्टीको अधिवेशनलाई विद्यालय बन्द

रमिता देखाउँदै स्थानीय तह : कहिले नेता आउँदा बिदा, कहिले पार्टीको अधिवेशनलाई विद्यालय बन्द

काठमाडौँ : स्थानीय तहका पदाधिकारीहरूले आफू निकट पार्टीको हितमा काम गर्दै रमिता देखाउन थालेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सभा भएकै आधारमा बुधबार महोत्तरीको रामगोपालपुरमा सार्वजनिक बिदा दिइएको थियो।

बिहीबार नेपाली काँग्रेसको जिल्ला अधिवेशनका लागि नगरपालिका क्षेत्रका विद्यालय बन्द गर्न बैतडीको दशरथ चन्द नगरपालिकाले निर्देशन दिएको खुलेको छ।

नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनका लागि नगरपालिकाले चार वटा विद्यालयलाई तीन दिन विद्यालयमा बिदा दिन निर्देशन दिएको हो।

नगरपालिका प्रमुख नरेन्द्र सिंह थापाका हस्ताक्षर रहेको सो पत्रमा वीरेन्द्र मावि, दशरथ चन्द मावि, जगदम्बा मावि र र दशरथ चन्द  आविलाई विद्यालयको फर्निचर र भवन आवश्यक पर्ने भएको भन्दै विद्यालय बन्द गर्न भनिएको हो।

पत्र अनुसार नगरपालिकाको कार्यालयको लेटर प्याडमा नगरपालिका प्रमुखले विद्यालयलाई पत्र लेख्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति बैतडीबाट १४ औँ जिल्ला अधिवेशन सम्पन्न गर्न विद्यालय भवन र फर्निचर आवश्यक भएका बताएका छन्।

त्यसैले अधिवेशनको सहयोगका लागि मङ्सिर ५ देखि ७ गतेसम्म स्थानीय विद्यालयबाट कट्टी हुने गरी विद्यालयमा बिदा गरी विद्यालय भवन र फर्निचर उपलब्ध गराई सहयोग गरिदिन नगरपालिकाले विद्यालयलाई निर्देशन दिएको छ।

मंसिर १, २०७८ बुधबार २१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।