सर्वोच्चको गतिरोध अन्त्य गर्न कर्मचारी ट्रेड युनियनको माग

सर्वोच्चको गतिरोध अन्त्य गर्न कर्मचारी ट्रेड युनियनको माग

काठमाडौँ : सर्वोच्च अदालतमा जारी गतिरोध अन्त्य गर्न निजामती कर्मचारी ट्रेड युनियनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र आन्दोलनरत न्यायाधीशलाई ज्ञापन पत्र बुझाएको छ।

२३ दिनदेखि सर्वोच्चमा चलिरहेको गतिरोधको अविलम्ब निकास निकाल्नका लागि बुधबार ४ सय जना कर्मचारीको हस्ताक्षरसहित ज्ञापन पत्र बुझाएका हुन्।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै गत ८ कात्तिकदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गर्दै आएका छन्। २३ दिनदेखि सुनुवाइ अवरुद्ध हुँदा जनताको न्याय पाउने हकमा अवरोध सिर्जना भएको ठहर गर्दै युनियनले ध्यानाकर्षण गराएको हो।

ज्ञापन पत्र बुझ्दै प्रधानन्यायाधीश राणाले निकासका लागि गम्भीर भएर छलफल भइरहेको जवाफ दिएका छन्।

त्यस्तै, आन्दोलनरत न्यायाधीशका तर्फबाट न्यायाधीश दीपककुमार कार्कीले निकासका लागि फूल कोर्ट बसेर गोला प्रथाद्वारा मुद्दा हेर्न नियमावली संशोधन गर्नुपर्ने भएकोले त्यसका लागि तयारी भइरहेको जवाफ दिएका थिए।

कर्मचारीहरूले इजलास सञ्चालनका लागि अविलम्ब समाधान ननिकालेमा आन्दोलनका थप कार्यक्रमहरू ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन्।

मंसिर १, २०७८ बुधबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।