महाधिवेशन प्रतिनिधि चयनमा बदमासी भएको रावलको दाबी

महाधिवेशन प्रतिनिधि चयनमा बदमासी भएको रावलको दाबी

काठमाडौँ : एमाले उपाध्यक्ष भीम रावलले पार्टीको दसौँ महाधिवेशन प्रतिनिधि चयनमा कैलाली लगायतका कतिपय जिल्लामा सदस्यता वितरण, नवीकरण र प्रतिनिधि चयनमा बेथिति भएको भन्दै रद्द गरी पुन : चयन गर्न माग गरेका छन्।

उनले  बुधबार विज्ञप्ति जारी गरेर यसबारे पार्टीमा जानकारी दिँदा पनि नरोकिएको भन्दै उनले धनगढीबाट कथित प्रतिनिधिको नाम घोषणा गरिएको दाबी गरे।

यस विरुद्ध सो क्षेत्रका १ हजार २ सय बढी पार्टी सदस्यहरूले हस्ताक्षर गरेर पार्टीमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको उनको दाबी छ।

‘विधि र पद्धतिको पूर्ण पालना गरी दसौँ राष्ट्रिय महाधिवेशन स्वच्छ र निष्पक्ष किसिमले हुनुपर्छ भन्ने सबैको चाहना र पार्टीको आवश्यकता हो। तर यस्तो चाहना र आवश्यकता विपरीत कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन्’, रावलले विज्ञप्तिमा भनेका छन्।

उनले बेथितिको उदाहरण दिँदै कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई लिन सकिने उल्लेख गरेका छन्।

उनले कथित प्रतिनिधि चयन रद्द गरी विधिसम्मत किसिमले प्रतिनिधिको चयन गर्न माग गरेका छन्।

मंसिर १, २०७८ बुधबार २१:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।