धान्न नसकेपछि दन्त चिकित्सा अस्पताल टिचिङ अस्पतालमा गाभिएर विभाग बन्यो

धान्न नसकेपछि दन्त चिकित्सा अस्पताल टिचिङ अस्पतालमा गाभिएर विभाग बन्यो
तस्बिर : हेल्थ आवाज

काठमाडौँ : दुई वर्ष अघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल(टिचिङ)बाट छुट्टाएर खोलिएको‘त्रिवि दन्त चिकित्सा शिक्षण अस्पताल’ नचलेपछि पुनः त्रिवि शिक्षण अस्पतालमै गाभिएको छ।

२०७६ असार १६ मा छुट्टाइएको ‘त्रिवि दन्त चिकित्सा शिक्षण अस्पताल’  बुधवारबाट लागु हुने गरी पुनः शिक्षण अस्पतालमा गाभिएको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले जानकारी दिए। २०७६ असारमा त्रिभूवन विश्वविद्यालयका उपकुलपती प्राडा तिर्थ खनियाले सो शिक्षण अस्पतालको उद्घाटन गरेका थिए।

अधिकारीका अनुसार शिक्षण अस्पताल अन्तर्गत रहेको दन्त विभागलाई छुट्टाएर ‘त्रिवि दन्त चिकित्सा शिक्षण अस्पताल’ बनाइएको थियो। तर, ‘त्रिवि दन्त चिकित्सा शिक्षण अस्पताल’ सञ्चालनमा आर्थिक, प्रशासनिक तथा प्राविधिक लगायतका समस्या निम्तिएपछि पुनः शिक्षण अस्पतालमा नै गाभिएको हो।

छुट्टै अस्पतालको रूपमा सञ्चालन हुन नसकेपछि  शिक्षण अस्पतालमा पुनः ‘दन्त चिकित्सा’ विभागकै रूपमा रहने गरी गाभिएको हो। चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज चिकित्सा क्याम्पस अन्तर्गत रहेको सो ‘त्रिवि दन्त चिकित्सा शिक्षण अस्पताल’मा दन्त चिकित्सातर्फका स्नातक र स्नातकोत्तर (बीडिएस र एमडीएस) तहको अध्यापन हुँदै आएको छ।

अस्पतालमा विद्यार्थीको अध्ययन तथा अनुसन्धान र बिरामलाई उपचार सेवा दिनुपर्ने हुन्छ। जसकालागि प्राविधिक जनशक्ति तथा औषधिलगायतको व्यवस्थापन गर्न कठिन भएकाले शिक्षण  अस्पतालमा नै गाभ्नु परेको महाराजगन्ज क्याम्पसका प्रमुख प्रा. डा. अर्जुन प्रसाद लामिछानेले जानकारी दिए।

उनले दन्त चिकित्सा अध्ययनका कार्यक्रम चलाउन उपचार सेवा राम्रो हुनुपर्ने भए पनि क्याम्पसले त्यसको राम्रो व्यवस्थापन गर्न नसकेको जानकारी दिए। क्याम्पस प्रमुख लामिछानेले भने,‘प्राविधिक जनशक्ति भएन। नर्सिङको दरबन्दी भएन। औषधि नै भएन। असिस्टेन्ट भएन। सामान किन्न पनि गाह्रो छ।’

उनले स्वतन्त्र रूपमा दन्त चिकित्सा शिक्षण अस्पताल चलाउनका लागि भौतिक संरचनालगायतको समेत समस्या भएकाले शिक्षण अस्पतालमा गाभिएको जानकारी दिए।

स्रोतका अनुसार अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक सामान्य किसिमका सामग्री खरिद गर्न समेत असहज भएको र बिरामीले उचित सेवा नपाएकाले बाध्य भएर शिक्षण अस्पतालमा नै गाभ्नु परेको हो।

गाभिएपछि चिकित्सा शास्त्र अध्ययन संस्थान(महाराजगन्ज चिकित्सा क्याम्पसका) विद्यार्थीको अध्ययन सम्बन्धी व्यवस्थापन क्याम्पसले गर्ने र बिरामीको उपचार, भौतिक संरचना, स्रोत–साधनलगायतको व्यवस्थापन भने अस्पतालले नै गर्ने अधिकारीले जानकारी दिए।

उनले भने,‘अध्ययनतर्फको व्यवस्थापन क्याम्पसले गर्छ र उपचारको व्यवस्थापन टिचिङ अस्पतालले गर्छ।’

त्यसै गरी शैक्षिक तर्फका चिकित्सकको तलब–भत्ताको व्यवस्थापन क्याम्पसले गर्ने अस्पतालले जनाएको छ। तर, चिकित्सकले क्याम्पसबाट तलब लिए पनि बिरामीलाई अस्पतालमा सेवा गरे बापतको ५० प्रतिशत भत्ताको व्यवस्थापन भने शिक्षण अस्पतालले नै गर्नुपर्ने अधिकारीले जानकारी दिए।

चिकित्सा शास्त्र अध्ययन संस्थानका तत्कालीन डिन प्रा.डा. जगदीश अग्रवालको कार्यकालमा शिक्षण अस्पतालबाट छुट्टाएर छुट्टै अस्पताल बनाइएको अस्पताल स्रोत बताउँछ।

भार थपिएकै हो त?

शिक्षण अस्पतालमा भएका करिब २५ सय कर्मचारीलाई तलब भत्ता तथा सुविधा दिन कठिन भएको अवस्थामा अस्पतालमा ‘दन्त चिकित्सा’ गाभिएपछि पुनः व्ययभार थपिएको अस्पतालको भनाई छ।

शिक्षण अस्पतालमा दन्त चिकित्सा विभागको रूपमा रहँदा सो विभाग राम्रोसँग सञ्चालन भएको अधिकारीले बताए। उनले भने,‘टिचिङ अस्पताल अन्तर्गत दन्त चिकित्सा विभाग हुँदा दैनिक एक लाख भन्दा बढी आम्दानी हुन्थ्यो। अहिले त दैनिक २०-२५ हजारमा झरेको रहेछ।’

क्याम्पस स्रोतका स्रोतका अनुसार ‘दन्त चिकित्सा शिक्षण अस्पताल’मा १७ जना दन्त चिकित्सक थिए। त्यसै गरी प्राविधिकतर्फ ७ र प्रशासनिकतर्फ ८ जना गरी १५ जना कर्मचारी थिए। १४ जना कर्मचारी भने ठेक्का (आउटसोर्सिङ)बाट लिइएको थियो। क्याम्पसपट्टिका कर्मचारी क्याम्पसमा नै जाने र शिक्षण अस्पतालबाट काजमा दन्त चिकित्सा शिक्षण अस्पतालमा खटिएका कर्मचारी शिक्षण अस्पतालमा नै फर्किने अधिकारीले जानकारी दिए। 

मंसिर १, २०७८ बुधबार २०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।