पत्रकारको अवार्ड घोषणा कार्यक्रममा पत्रकारकै बेइज्जत

पत्रकारको अवार्ड घोषणा कार्यक्रममा पत्रकारकै बेइज्जत

काठमाडौँ : आवाजको दुनियाँको साथीको स्लोगनले परिचित सञ्चारकर्मी दिनेश डिसीले पत्रकारको अवार्ड घोषणा कार्यक्रममा पत्रकारकै बेइज्जत गरेका छन्। उनले जापान जाने सिलसिलामा पत्रकार ऋषि धमलाले कसरी आफूलाई २० प्रतिशत मात्रै तिरेर नेपाल एयरलाइन्सको टिकट दिलाए भन्नेबारे रसिलो पाराका कार्यक्रममा सुनाएका थिए।

कार्यक्रमको उद्घोषणको जिम्मा पाएका डिसीका अनुसार उनी दुई कलाकार लिएर जापान उड्न लागेका थिए। कलाकारलाई लिएर गए बापतको टिकट रकम पहिले नै आयोजकबाट लिइसकेका थिए। टिकट काट्न जाने क्रममा बाटोमा धमलासँग भेट भयो।

एयरलाइन्समा बोर्डको बैठक चलिरहँदा धमला र डिसी सहित दुई कलाकार लिएर सरासर भित्र गए। प्रमुखलाई बसेको ठाउँबाट उठाए। तिन ओटा निःशुल्क टिकट मागे।

विभिन्न विवादका कारण निःशुल्क टिकट बन्द भएको भन्दा धमलाले उल्टै प्रमुखलाई देशको गहनाको पैसा लिने भनेर थर्काए। धमलाको अघि केही सिप नचलेपछि एयरलाइन्स प्रमुखले आफ्नै परिवारका सदस्य घुम्न जान पाउने ६ टिकट मध्ये ८० प्रतिशत छुटमा तीन वटा टिकट दिए।

एयरलाइन्सको ८० प्रतिशत अर्थात् झन्डै ढाइ लाख रुपैयाँ कमाउन मद्दत गरेको र त्यही पैसाले १३ आना जग्गा काठमाडौँ बाहिर किन्न सफल भएको डिसीले गर्वका साथ सुनाए।

यो घटनामा पेशाको दुरुपयोग गर्ने र त्यसबाट लाभ लिने दुबै कार्यक्रममा सहभागी थिए। धमला उनको कुरा मक्ख परेर सुनिरहेका थिए। आफुलाई आर्थिक फाइदा गराएकोमा डिसी पनि खुसी नै देखिएका थिए।

तर पत्रकार सम्मेलनमा सहभागी केही पत्रकारहरू भने यो विवरण सुनेर बेइज्जतै भयो भन्दै थिए।

अर्वाड आफैमा विवादित विधा हो। त्यसमा पनि पत्रकारितासँग जोडेर ड्रिम हाइ नेपालले पहिलोपल्ट नेपाल मिडिया अवार्ड २०७८ को आयोजना गर्दै छ। आयोजकले पत्रकार महासङ्घसँगको सहकार्यमा कार्यक्रम गर्न लागेको जानकारी दिएको थियो।

आयोजकका अनुसार झन्डै २५ विधामा पत्रकारलाई सम्मान गरिनेछ। नेपाल पत्रकार महासङ्घको समन्वयमा महासङ्घका २ पूर्व अध्यक्ष सहित पाँच सदस्यीय निर्णायक टिमले अवार्ड पाउने सञ्चारकर्मीहरूको छनोट गर्ने कार्यक्रममा जानकारी दिइयो। विभिन्न विधागत पत्रकारिता गरिरहेका उत्कृष्ट पत्रकार, टेलिभिजन, रेडियो, पत्रिका र अनलाइनका उत्कृष्ट पत्रकारहरूलाई अवार्ड प्रदान गरिने आयोजकले बताए। 

मंसिर १, २०७८ बुधबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।