सत्यमोहनले पाए ई-पासपोर्ट, अब पासपोर्टको रङ पनि बदलियो
काठमाडौँ : शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट दिँदै राहदानी विभागले विद्युतीय राहदानी बुधवारबाट सार्वजनिक गरेको छ। बुधबार परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई साधारण साधारण ई-पासपोर्ट दिएर यसको प्रारम्भ गरेका थिए।
कार्यक्रममा जोशीले पहिलो ई-पासपोर्ट पाउँदा खुसी लागेको बताएका थिए। परराष्ट्र मन्त्री खड्काले आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झट सम्झँदै ई पासपोर्टले निकै सहज हुने बताएका थिए।
उनले अब पासपोर्टको काम सबै अनलाइनबाट हुने बताउँदै सेवाग्राहीलाई झन्झट पनि नहुने र अब विदेश यात्रा गर्दा नेपालीले अन्य देशको पासपोर्ट बाहकभन्दा फरक व्यवहार पनि सामना गर्नु नपर्ने बताएका थिए।
राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले संसारमा अब नेपालको पासपोर्ट विश्वासयोग्य हुने बताएका थिए। उनले हस्तलिखितबाट ई-पासपोर्टसम्म पुग्नु सफलता भएको बताए। पासपोर्टलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिएको उनले जानकारी दिएका थिए।
.jpg)
कार्यक्रममा उनले दिएको जानकारी अनुसार एक घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्ने विभागको क्षमता छ। सबै काम अनलाइनबाट हुने भएकाले अब सेवाग्राहीले पासपोर्ट लिन घन्टौँ लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्ति पाएको उनको दाबी थियो।
विभागले अहिले कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब, साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका पासपोर्ट जारी गर्दै आएकोमा अब सर्भिस पासपोर्ट समेत थपेर सात प्रकारको ई-पासपोर्ट दिने भएको छ।
.jpg)
विदेशी नियोगमा जाने राजदूत, स्थायी प्रतिनिधि, महावाणिज्यदूत, वा राजपत्राङ्कित तहका कर्मचारीका साथ जाने श्रेणिविहीन कर्मचारीको हकमा सर्भिस पासपोर्ट बनाइएको हो।
पासपोर्टको रङ्ग बदलियो
ई- पासपोर्ट दिन सुरु गरेसँगै सरकारले पासपोर्टको कलर समेत बदलेको छ। अब सर्वसाधारणले हरियो रङको हैन चकलेटी खैरो रङको पाउने छन्। कूटनीतिक राहदानी रातो हुने गरेकोमा अब सिम्रिक रातो हुनेछ।
मंसिर १, २०७८ बुधबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।